अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य ७ बर्षमै उच्च, सबैभन्दा महँगो क्यालिफोर्नियामा, के हो कारण?


प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार

अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य ७ बर्षमै उच्च बिन्दुमा पुगेको छ भने सबैभन्दा महँगो क्यालिफोर्नियामा भएको छ । शुक्रबार क्यालिफोर्नियामा पेट्रोलको मूल्य प्रति ग्यालेन ४ डलर ६५ सेन्टस पुगेको थियो ।

पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा महँगो बिन्दुमा पुगेका अन्य राज्यहरुमा हवाई, नेभाडा, वासिंटन, आरेगन, युटाह, अलास्का, आइदायो, वासिंटन डिसी र इलिनोय रहेका छन् । अमेरिकाभरको औषतमा पेट्रोलको मूल्य प्रति ग्यालेन साढे ३ डलरको हाराहारीमा पुगेको छ ।

एकबर्ष अगाडिको तुलनामा पेट्रोलको मूल्य प्रति ग्यालेन औषतमा झण्डै डेढ डलर बढेको छ । १५ ग्यालेन पेट्रोल भर्दा गतबर्षको तुलनामा अमेरिकनहरुले झण्डै २० डलर बढी तिर्नुपरेको छ । मिसिगन, ओहायो, इन्डियाना, एरिजोना, न्यु मेक्सिको, इलिनोय, मिनेसोटा, ओक्लाहोमा, न्यु ह्याम्पशार र टेक्सासमा पनि एकैसातामा सबैभन्दा धेरै मूल्य बढेको छ ।

गत केही सातादेखि पेट्रोलियम पदार्थको माग एकदमै बढेको र त्यसैका कारण मूल्य बढेको अमेरिकन अटोमोबाइल एसोसिएसनले जनाएको छ । कतिपयले मूल्यबृद्धिका लागि राष्ट्रपति बाइडेनलाई दोष दिइरहेका छन् भने कतिपयले मूल्यबृद्धिका पछाडिको कारण वाल स्ट्रीट रहेको तर्क दिएका छन् ।

आपूर्तिको तुलनामा मागमा बृद्धि भइरहेमा मूल्य बृद्धि पनि जारी रहने अमेरिकन अटोमोबाइल एसोसिएसनको भनाई छ । अर्गनाइनजेशन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिजले कच्चा तेलको उत्पादन सन् २०२२ को अप्रिलसम्म हरेक महिना ४ लाख ब्यारलसम्म बढाउने निर्णय गरेको थियो । अक्टोबरमा भएको बैठकमा पनि माग अनुशार आपूर्ति बढाउनुको साटो जुलाईमा नै तय गरे अनुशार जारी राख्ने निर्णय गरेको थियो ।

डेलाइट सेभिङका कारण दिन छोटा हुँदा पेट्रोलियम पदार्थको माग कम हुने अपेक्षा गरिएको छ । चालकहरु उज्यालोमा नै घर पुग्नका लागि किनमेल वा अन्य कामका लागि नअलमलिएर सिधै घर जान खोज्ने भएकाले पेट्रोलियम पदार्थको मागमा कमी हुने र मूल्य घट्न सक्ने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com