अमेरिकी पत्रकार डेनीलाई म्यान्मारमा ११ वर्षको जेल सजाय
प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार
म्यानमारको जुन्टा अदालतले शुक्रबार अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । उनका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै ड्यानी फेन्स्टरलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् ।
उनलाई गत मे महिनामा याङ्गुनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।ड्यानीले जुलाई २०२० मै म्यान्मार नाऊबाट राजीनामा दिएका थिए र अर्को महिना फ्रन्टीअरसँग आबद्ध भएका थिए । त्यसैले मे २०२१ मा पक्राउ पर्दा उनी नौ महिनाभन्दा बढी समयदेखि फ्रन्टीअरमा काम गर्दै आएका थिए। ती अभियोगमा ड्यानीलाई दोषी ठहर गर्ने कुनै आधार छैन।
सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैैन्य कूविरुद्ध प्रर्दशन र आलोचना गर्ने दर्जनौं पत्रकारहरूलाई सैनिक सरकारले गिरफ्तार गरेको छ । स्थानीय अनुगमन समूहका अनुसार सैन्य कूका विरोधमा भएको प्रर्दशनको क्रममा १२ सय भन्दा बढी व्यक्तिहरू मारिएका थिए भने, हजारौ पक्राउ परेका थिए ।
मुद्धा पुनरावेदन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय भइनसकेको उनका वकिलले बताएका छन् । पक्राउ परेका पत्रकार फेन्स्टरलाई याङ्गुनको इन्सेन जेलमा राखिएको छ । उनलाई देशद्रोह र आतंकवादको आरोप पनि लगाइएको छ । उनलाई आजीवन जेल सजाय दिन सक्ने पनि अनुमान गरिएको छ । फ्रन्टियर म्यानमारले प्रकाशित गरेको विज्ञप्तिमा अदालतको फैसलाबाट आफूहरु सबैजना निराश भएको र ड्यानीलाई रिहा गरिएको हेर्न चाहेको उल्लेख गरिएको छ । एजेन्सी






