युरोपमा बढेको कोरोना संक्रमणबाट सचेत हुन अमेरिकालाई विश्व स्वास्थ्य संगठनको चेतावनी


प्रकाशित मिति : कार्तिक २३, २०७८ मंगलबार

युरोपमा बढेको कोरोना संक्रमणबाट सचेत हुन अमेरिकालाई विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोरोना नियन्त्रणमा आइसकेको ठानिएका युरोपका कैयन देशमा कोरोना संक्रमण बढेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो । अमेरिकामा युरोपबाट भ्याक्सिन लगाएकाहरुलाई प्रवेश गर्न खुला गरेकै अवस्थामा यस्तो चेतावनी आएको हो ।

कोरोना नियन्त्रणमा आज पाएको सफलता भोलि पनि पाउने निश्चित नभएकाले बेलैमा सजगता अपनाउनुपर्ने विश्व स्वास्थ्य संगठनको भनाई छ । त्यसैले अमेरिकाले अहिले एकदम नजिकबाट ध्यान दिन आवश्यक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

गत महिनाको तुलनामा युरोमा कोरोना संक्रमण दर ५० प्रतिशतले बृद्धि भएको छ । युरोपमा आगामी फरबरीसम्म थप ५ लाखजना सम्मको ज्यान जानसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीले युरोप पुन कोरोनाको नियन्त्रणमा पुगेको बताएका छन् ।

विगत ४ साताको मात्र अवस्था हेर्दा युरोपमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुने दर पनि दोब्बर भएको छ । युरोपका कैयन भागमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने दर बढेपछि कोरोना सम्बन्धित मापदण्डहरु खुकुलो बनाइएका कारण संक्रमणदर पनि बढेको छ । कतिपय युरोपका देशमा कोरोना संक्रमणबाट मृत्युदर कम भएपनि पूर्वी युरोपका देशमा मृत्युदर पनि उच्च रहेको छ ।

पोर्चुगल कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने विश्वकै उच्च दरभएको मुलुकमध्यको एक हो । तर रोमानिया सबैभन्दा कम दरमा भ्याक्सिन लगाउनेमध्येको मुलुक हो । रोमानिया कोरोना संक्रमणबाट मृत्यु हुने दर उच्च भएका विश्वका देशमा पर्छ । सोमबार जर्मनीमा कोरोना संक्रमण दर महामारी सुरु भएदेखिकै उच्च बिन्दुमा पुगेको थियो ।

बेलायतका विद्यालयहरुमा पनि कोरोना संक्रमण दर बढेको छ । यसै शैक्षिक शत्रदेखि कोरोना सम्बन्धित मापदण्डहरु हटाउनुका साथै मास्क अनिवार्यको नियम समेत हटाएपछि विद्यालयमा संक्रमण दर बढेको छ । कोरोना संक्रमणदर अस्पताल भर्ना हुने र मृत्यु हुने दरमा प्रतिबिम्बित नभएपनि आगामी केही महिनामा बेलायतमा अर्को लकडाउन निम्तिने सम्भावना रहेको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com