टिकटकमा सिकेको मुठ्ठी पार्ने संकेत प्रयोग गरेपछि बेपत्ता बालिकाको केन्टकीमा उद्दार
प्रकाशित मिति : कार्तिक २२, २०७८ सोमबार
नर्थ क्यारोलिनाबाट हराइरहेकी एकजना बालिकाले टिकटकमा सिकेको संकेत प्रयोग गरेपछि प्रहरीले केन्टकीबाट उद्दार गर्न सफल भएको छ । ति बालिकाले आफू घरेलु हिंशामा परेको जनाउने संकेत प्रयोग गरेको देखेका एकजना व्यक्तिले प्रहरीलाई खबर गरेपछि उनको उद्दार सम्भव भएको थियो ।
नर्थ क्यारोलिनाको आसभिलकी ती बालिका मंगलबारदेखि हराइरहेको उनका बुबाआमाले प्रहरीलाई खबर गरेका थिए । बिहिबार एकजना मोटर चालकले ती बालिका केन्टकीको इन्टरसेक्सनमा गुडिरहेको गाडीभित्र तनावपूर्ण अवस्था रहेको देखेपछि ९११ मा फोन गरेका थिए ।
ती बालिका रहेको गाडीको ठीक पछाडि रहेको गाडीमा सवार महिला चालकले ती बालिकाले टिकटकमा सिकेको हातको संकेत गरेको देखेकी थिइन् । टिकटकमा भाइरल रहेको उक्त संकेत पछाडिको गाडीमा रहेकी महिलाले बुझेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । उक्त संकेतले आफू हिंशामा परेको र सहायता रहेको बुझाउने गर्छ ।
आफू हिंशामा परेको र सहायता आवश्यकता परेको जनाउन एउटा हातले संकेत गर्न सकिन्छ । बुढी औलालाई अन्य औंलामुनी पर्नेगरी मुठ्ठी पारेर औंलाका टुप्पातिरको भाग बाहिर देखिने गरी कसैले संकेत गरेमा हिंशामा परेको र सहायता आवश्यम भएको भन्ने बुझिन्छ । ति बालिकाले उक्त संकेत टिकटकबाट सिकेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई खबर गर्ने पछाडिको गाडीमा रहेका व्यक्तिले सहायताका लागि झण्डै ७ माइलसम्म गाडीको पछाडि रहेर प्रहरीसमक्ष जानकारी उपलब्ध गराउन मद्दत गरेका थिए । लगत्तै प्रहरीले बालिका रहेको गाडी रोक्न र बालिकाको उद्दार गर्न सफल भएको थियो ।

संदग्धि व्यक्तिले बालिकालाई नर्थ क्यारोलिनाबाट ओहायोतिर आफन्तकोमा लगेको थियो । तर उसका आफन्तहरुले ती बालिका कम उमेरको रहेको थाहा पाएपछि बालिकालाई लिएर उक्त व्यक्ति ओहायोबाट हिडेको थियो । ती व्यक्तिले बालिकालाई यौन धन्दामा लगाउनका लागि लिएर हिडेको जनाइएको छ ।
ती बालिकाले कतिबेरदेखि त्यस्तो संकेत गरेकी थिइन् भन्नेबारे केही स्पष्ट छैन । अन्य चालकहरुले उक्त संकेत ख्याल नगरेपनि एकजनाले ख्याल गर्दा बालिकाको उद्दार सम्भव भएको हो । बालिकालाई लिएर हिड्ने व्यक्तिलाई पक्राउ गरेर बालिकालाई बन्धक बनाएको र यौनजन्य कृयाकलापमा लगाउन खोजेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
कभर: सांकेतिक तस्वीर






