कोरोनाबिरुद्धको मर्क चक्की यूकेबाट स्वीकृत, फाइजरको चक्की पनि ८९% प्रभावकारी
प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार
मर्कबाट उत्पादित कोरोनाबिरुद्धको खाने चक्की यूकेको सरकारले प्रयोगका लागि अनुमति दिए लगत्तै कोरोनाबिरुद्धको खाने चक्की बनाइरहेको फाइजरले पनि आफ्नो औषधी कोरोना संक्रमणबाट अस्पताल भर्ना हुने र मृत्यु हुनेदर रोक्न ८९ प्रतिशत प्रभावकारी भएको जनाएको छ । लक्षण विकशित हुन थालेको तीनदिनभित्र उक्त औषधी सेवन गरेको खण्डमा कोरोनाबाट अस्पताल भर्ना हुने वा मृत्यु हुने अवस्था रोक्न ८९ प्रतिशत प्रभावकारी हुने कम्पनीले शुक्रबार जनाएको हो ।

पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्नुपर्ने हुन्छ। १२ सयभन्दा धेरै संक्रमितहरुमा गरिएको परीक्षणमा यो फाइजरको चक्की सेवन गरेकाहरु अस्पताल भर्ना हुने दर निकै कम रहेको थियो । फाइजरको चक्की सेवन गरेका कसैको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थिएन । फाइजरबाट उत्पादित सेवन गर्ने औषधीको प्रभावकारिताबाट स्वास्थ्य जगतमा उत्साह छाएको छ ।

अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको मोल्न्यूपिरभीरले भने फाइजरलाई उछिनेको छ । लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको यो पहिलो खाने औषधिलाई यूकेको औषधि नियामक निकायले अनुमोदन गरिसकेको छ भने अमेरिकाको एफडीए समक्ष पनि आपतकालिन प्रयोगको स्वीकृतिका लागि आवेदन दिइसकेको छ ।
कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ। कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल हो ।
यूकेले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्न्यूपिरभीर औषधि पाउने गरी खरिद सम्झौता गरेको छ। हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको २ लाख ५० हजार औषधि पनि यूकेले खरिद गर्नेछ।






