ठूला रोजगारदाता, संघीय ठेकेदार र निजी स्वास्थ्यकर्मीलाई जनवरी ४ देखि भ्याक्सिन अनिवार्य


प्रकाशित मिति : कार्तिक १८, २०७८ बिहीबार

अमेरिकामा एकसयभन्दा बढी कर्मचारी भएका ठूला रोजगारदाता, संघीय ठेकेदार र निश्चित स्वास्थ्यकर्मीहरुका लागि समेत भ्याक्सिन अनिवार्यको नियम जनवरी ४ देखि लागु हुने भएको छ । बाइडेन प्रशासनले बिहिबार निजी क्षेत्रलाई समेत कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्यको नियम लागु हुने मिति घोषणा गरेको हो ।

मापदण्डभित्र पर्नेहरुले जनवरी ४ अगाडि नै मोडेर्ना वा फाइजर भ्याक्सिनको दुबै डोज लगाएको हुनुपर्नेछ । त्यस्तै जोन्सन एण्ड जोन्सन भ्याक्सिनको एक डोज लगाएकाहरुलाई पनि मान्यता दिइनेछ । महामारीको सामना गर्ने एउटामात्र उचित बाटो भ्याक्सिन लगाउनु नै रहेकाले यो नियमको पालना गर्न राष्ट्रपति जो बाइडेनले सबैलाई आग्रह गरेका छन् ।

यो नियम अन्तरगत अमेरिकामा एकसय मिलियन भन्दा धेरै कामदारहरु पर्नेछन् । एकसयभन्दा बढी कामदार भएका कम्पनीमा काम गर्नेहरु अमेरिकामा ८४ मिलियनभन्दा धेरै रहेका छन् । त्यस्तै यो श्रेणीमा पर्ने स्वास्थ्यकर्मीहरु १७ मिलियनको हाराहारीमा छन् । संघीय ठेकेदारहरुका लागि डिसेम्बर ८ देखि भ्याक्सिन अनिवार्य गराउने योजना रहेपनि अब उनीहरुका लागि पनि जनवरी ४ कै डेडलाइन तोकिएको छ ।

अमेरिकामा अहिलेसम्म १९२ मिलियनभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् । बुस्टर डोज लगाउनेहरुको संख्या समेत २० मिलियन नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म झण्डै साढे ७ लाखको ज्यान गइसकेको छ । हरेक दिन ७० हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टी हुने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com