न्युयोर्क सिटीमा भोलिदेखि ५ बर्षमाथिकालाई भ्याक्सिन, नोभेम्बर ८ देखि हरेक विद्यालयमा


प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार

न्युयोर्क सिटीबाट संचालित भ्याक्सिन केन्द्रहरुमा भोलिदेखि ५ बर्षदेखि माथिका बालबालिकाहरुका लागि समेत कोरोनाबिरुद्धको भ्याक्सिन लगाइने भएको छ । सीडीसीबाट ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुका लागि पनि भ्याक्सिन स्वीकृत भएपछि बिहिबारदेखि यो उमेर समुहका लागि भ्याक्सिन वितरण सुरु गरिने भएको हो ।

कोरोनाबिरुद्धको लडाईमा बिहिबार ऐतिहासिक दिन हुने मेयर बिल डे ब्लाजिओले बताएका छन् । क्रिसमस अगाडि बालबालिकाहरुलाई पूर्ण संरक्षण प्रदान गर्ने र थ्यांक्सगिभिङ अगाडि नै केही संरक्षण प्रदान गर्ने उद्देश्यले विहिबारदेखि भ्याक्सिन अभियान सुरु गर्न लागिएको ब्लाजिओले बताए । बिहिबारदेखि ५ बर्षमाथिकाले फाइजर भ्याक्सिन पाउनेछन् ।

नोभेम्बर ८ देखि ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुले अध्ययन गर्ने न्युयोर्क सिटीभित्रका हरेक विद्यालयहरुमा भ्याक्सिन लगाइने भएको छ । एकसतामा झण्डै १ हजार ७० विद्यालयहरुमा भ्याक्सिन लगाइने र दैनिक झण्डै २ सय विद्यालयमा भ्याक्सिन लगाइने जनाइएको छ । भ्याक्सिन लगाउने बेलामा बालबालिकाहरुका साथमा बुबाआमा वा अभिभावक हुनुपर्नेछ । उपस्थीत हुन नसक्नेहरुले फोनमार्फत मौखिक सहमति दिन सक्नेछन् ।

फाइजर भ्याक्सिनका लाखौं डोज भ्याक्सिनहरु न्युयोर्कमा चिकित्सकहरुका कार्यालयहरु र फार्मेसीहरुमा डेलिभर भइसकेको छ । उनीहरुले बुधबार बेलुकादेखि नै बालबालिकाहरुका लागि भ्याक्सिन अप्वाइन्टमेन्ट उपलब्ध गराउन सुरु गर्नेछन् । न्युयोर्क राज्यले ३ लाख ८० भन्दा धेरै डोज भ्याक्सिन पहिले नै अर्डर गरिसकेको छ ।

बालबालिकाहरुका लागि पनि फाइजर भ्याक्सिन तीनसाताको अन्तरमा दुईडोज स्वीकृत गरिएको हो । तर बालबालिकाहरुका लागि तय भएको डोज भने जम्मा १० माइक्रोग्रामको रहेको छ । किशोर र बयस्कहरुका लागि स्वीकृत भ्याक्सिनको मात्राको तुलनामा यो मात्रा एकतिहाईमात्र हो ।

५ बर्षदेखि ११ बर्षबीचका बालबालिकाहरुमा गरिएको क्लीनिकल परीक्षणमा यो भ्याक्सिन कोरोनाबाट बिरामी हुनबाट रोक्न ९१ प्रतिशत प्रभावकारी पाइएको छ । भ्याक्सिनले बयस्कहरुको केही समुहमा मुटुसँग सम्बन्धित दुर्लभ साइड इफेक्ट देखिएपनि त्यो अत्यन्तै सामान्य र उपचार गर्न सकिने खालको रहेको चिकित्सकहरुले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com