न्युयोर्क सिटी मेयरमा नेपालीमाझ लोकप्रिय एरिक आडम्स विजयी, न्युयोर्क सिटीमा दोश्रो अश्वेत मेयर


प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार

न्युयोर्क सिटी मेयरमा नेपालीमाझ लोकप्रिय एरिक आडम्स विजयी भएका छन् । सार्वजनिक सुरक्षामा बृद्धि र कामगर्ने बर्गको आवाज बन्ने प्रतिवद्धता जनाएका आडम्सले रिपब्लिकन उम्मेदबार कुर्तिस सिल्वालाई सजिलै पराजित गरेका हुन् ।

आगामी जनवरीमा सपथग्रहण गरेपछि आडम्स न्युयोर्क सिटीमा दोश्रो अश्वेत मेयर हुनेछन् । उनी सन् २०१४ देखि न्युयोर्क सिटीको ब्रुकलिन बोरो प्रेसिडेण्ट रहदै आएका थिए । आगामी जनवरीमा ६१ बर्षका आडम्सले वर्तमान मेयर बिल ब्लाजिओको स्थान लिनेछन् ।

मंगलबार मतदानका क्रममा एरिक आडम्स

प्राइमरी चुनावमा भएको कडा प्रतिस्पर्धामा विजयी भएसँगै आडम्स न्युयोर्क सिटीका मेयर हुने लगभग पक्का भएको थियो । डेमोक्र्याट्सहरुको नियन्त्रण रहेको न्युयोर्क सिटीमा डेमोक्रेटिक प्राइमरीमा निर्वाचित हुने उम्मेदबार नै मेयर हुने सुनिश्चित रहन्छ ।

गरिबीबाट उठेर प्रहरी क्याप्टेनहुँदै बु्रकलिन बोरो पे्रसिडेण्ट भएका एरिक आडम्स अब अमेरिकाको सबैभन्दा विशाल सिटी न्युयोर्क सिटीको दोश्रो अश्वेत मेयर हुने भएका छन् । यो चुनावलाई न्युयोर्क सिटीको यो पुस्ताकै सबैभन्दा महत्वपूर्णमध्येको चुनाव भनिएको छ । अब आडम्स समक्ष समक्ष कोरोना महामारीबाट क्षतिग्रस्त न्युयोर्क सिटीलाई पुनजीर्वित पार्ने तथा सिटीभित्रको सामाजिकआर्थिक तथा विभेदपूर्ण असमानतालाई सम्बोधन गर्नुपर्ने दायीत्व रहेको छ ।

नेपाली टोपीमा एरिक आडम्स

पछिल्लो चरणमा न्युयोर्क सिटीभित्र बढेका गोलीकाण्ड र अपराधका घटनाले गर्दा न्युयोर्क सिटीलाई सुरक्षित बनाउनुपर्ने दायीत्व अझै धेरै बढेको छ । कानून कार्यान्वयन पृष्ठभूमिका एरिक आडम्सले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भको एजेण्डामा न्युयोर्कबासीको मन जित्न सफल भएका थिए ।

एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन् । उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरिएको थियो ।साथै नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए ।

एरिक आडम्सका साथमा न्युयोर्क सिटी काउन्सिल चुनावमा नेपाली मूलको पहिलो उम्मेदबार बनेर इतिहास कायम गर्न सफल नवराज केसी ।

आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com