बाइडेनले जितेको भर्जिनियामा रिपब्लिकन गभर्नर विजयी, तोडियो डेमोक्रेटिक गभर्नरको शिलशिला
प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार
राष्ट्रपति चुनावमा जो बाइडेनले जितेको भर्जिनियामा रिपब्लिकन उम्मेदबार ग्लेन योंग्केन गभर्नरमा विजयी भएका छन् । भर्जिनियाको चुनावमा पराजित भएपछि डेमोक्र्याट्सहरुलाई झड्का लागेको छ ।

डेमोक्रेटिक उम्मेदबार टेरी म्याक्काउलाइफलाई जिताउन अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति बराक ओबामा समेत चुनावी अभियानमा लागेका थिए । तर उनको जीतका लागि यो प्रयाप्त भएन । २०१४ देखि डेमोक्र्याट्सले जित्दै आएको भर्जिनियामा ग्लेन योंग्केन उक्त शिलशिला तोड्न सफल भएका छन् ।

९९ प्रतिशतसम्म मतगणना हुँदा योंग्केनले १६ लाख ७७ हजार ४ सय ३६ अर्थात् ५० दशमलव ७ प्रतिशत मत ल्याएर विजय हासिल गरेका छन् । डेमोक्रेटिक उम्मेदबार टेरीले १६ लाख १० हजार १ सय ४२ अर्थात् ४८ दशमलव ६ प्रतिशत मत ल्याएर पराजय भोगेका छन् ।
मंगलबारको चुनावमा भर्जिनियामा भएको गभर्नरको चुनावलाई विशेष महत्वका साथ हेरिएको थियो । तर न्युजर्सीमा पनि डेमोक्रेटिक गभर्नर फिल मर्फीले रिपब्लिकन उम्मेदबार ज्याक सिटारेलीसँग कडा प्रतिपस्र्धाको सामना गरेका छन् ।
९८ प्रतिशत मतगणना हुँदा रिपब्लिकन उम्मेदबार ज्याक सिटारेलीले फिल मर्फीलाई झण्डै १२ सय मतले उछिनेका छन् । सिटारेलीले ११ लाख ७३ हजार ५ सय ५८ अर्थात् ४९ दशमलव ७ प्रतिशत र फिल मर्फीले ११ लाख ७२ हजार ३ सय ६५ अर्थात् ४९ दशमलव ६ प्रतिशत मत ल्याएका छन् । सिटारेलीले जम्मा शुन्य दशमलव १ प्रतिशत मतले अग्रता कायम गरेका छन् ।






