महामारी विरुद्ध लड्ने एकमात्र उपाय खोप भएकाले समान रुपमा वितरण गरौँ : राष्ट्रसंघ
प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार
विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो ।त्यसैले यस्तो अवस्थामा विश्वका नागरिकलाई यस भाइरसका विरुद्धको खोप सहज र सुलभ रुपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– विश्वका धनी भनिएका देशहरुले कोरोना भाइरसको तेस्रो मात्रा लगाउने तयारी गर्दैछन् तर पनि अफ्रिकामा भने पाँच प्रतिशत मात्र नागरिकहरुले पूर्ण खोप लिएका छन् ।
उहाँले यो संसारकै लागि लाजमर्दो अवस्था हो भन्नुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभयो ।महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गर्नुभयो ।
महासचिव गुटेर्रेसले भन्नुभयो – म विश्वका धनी देशहरुलाई यो आग्रह गर्दछु कि खोप यो महामारी विरुद्धको एकमात्र उपाय भएकाले यसमा सबैको पहुँच पु-याउन सकियोस् । उहाँले अहिले पनि खोपको वितरण त भइरहेको छ र विश्वका सबैजसो देशमा यो पुगेको छ भन्दै तर पनि नागरिकलाई समान रुपमा भने वितरण गरिएको छैन, त्यसैले अहिलेको प्रयासलाई अरु धेरै बढाउनुपर्ने अवस्था छ भन्नुभयो ।
अहिले यो खोप धनी देश र मध्यमबर्गीय देशहरुमा पुगेको तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताउनुभयो । यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो । यो महामारीबाट विश्वका पचास लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको भन्दै अहिले पनि मानव जातिसँग यो महामारीका विरुद्धमा लड्ने एक प्रभावकारी उपाय खोपमात्र रहेकोतर्फ सबैले बुझ्नुपर्ने उहाँले बताउनुभयो ।
कोभिडबाट ५० लाख भन्दा बढीको मृत्यु
१९ महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण विश्वभरी ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ । चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि दिइएको जानकारीअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो ।
विश्वका अरबौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ । गत अक्टोबरको शुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजार भन्दा कम भएको छ ।
यद्यपी युरोपमा दुई महिनायता पहिलो पटक कोभिड–१९ का सङ्क्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताउनु भएको छ । रुसमा हाल सङ्क्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजार भन्दा बढी भएको मृत्यु हुदै आएको छ । रुसमा कोरोना सङ्क्रमणको कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भईसकेको छ ।






