न्युयोर्क सिटीमा नेपालीमाझ लोकप्रिय एरिक आडम्स आगामी मेयर बन्ने पक्का, चुनावको मुख्य दिन भोलि
प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार
नेपाली टोपीमा एरिक आडम्स
भोलि हुने निर्वाचनबाट न्युयोर्क सिटी मेयरमा नेपाली समुदायमाझ लोकप्रिय एरिक आडम्स निर्वाचित हुने लगभग पक्का भएको छ । प्राइमरी चुनावमा भएको कडा प्रतिस्पर्धामा विजयी भएसँगै उनी न्युयोर्क सिटीका मेयर हुने लगभग पक्का भएको हो । डेमोक्र्याट्सहरुको नियन्त्रण रहेको न्युयोर्क सिटीमा डेमोक्रेटिक प्राइमरीमा निर्वाचित हुने उम्मेदबार नै मेयर हुने लगभग सुनिश्चित रहन्छ ।
यद्यपी भोलि हुने चुनावमा उनले रिपब्लिकन उम्मेदबार कुर्तिस सिल्वासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । न्युयोर्क सिटीमा डेमोक्र्याट्सको पकड रहेपनि नोभेम्बर २ अर्थात् भोलि मतदान समाप्त भएपछिमात्र औपचारिक चुनावी परिणाम आउनेछ ।

प्राइमरी चुनावमा १ लाख १८ हजार हुलाकबाट पठाइएका मतपत्रहरु गणना गर्दा एरिक आडम्सले क्याथरिन ग्रासियालाई पछाडि पार्दै डेमोक्रेटिक प्राइमरीमा निर्वाचित भएका थिए । जम्मा ८ हजार ४ सय २६ को भोटको अग्रतासहित आडम्सले जितेका थिए । उनले कुल ४ लाख ३ हजार ३ सय ३३ मत अर्थात् ५० दशमलव ५ प्रतिशत मत ल्याएका थिए भने ग्रासियाले ३ लाख ९४ हजार ९ सय ७ अर्थात् ४९ दशमलव ५ प्रतिशत मत ल्याएकी थिइन् ।

गरिबीबाट उठेर प्रहरी क्याप्टेनहुँदै बु्रकलिन बोरो पे्रसिडेण्ट भएका एरिक आडम्स अब अमेरिकाको सबैभन्दा विशाल सिटी न्युयोर्क सिटीको दोश्रो अश्वेत मेयर हुने बाटोमा रहेका छन् । यो चुनावलाई न्युयोर्क सिटीको यो पुस्ताकै सबैभन्दा महत्वपूर्णमध्येको चुनाव भनिएको छ, जसबाट निर्वाचित हुने मेयर समक्ष कोरोना महामारीबाट क्षतिग्रस्त न्युयोर्क सिटीलाई पुनजीर्वित पार्ने तथा सिटीभित्रको सामाजिकआर्थिक तथा विभेदपूर्ण असमानतालाई सम्बोधन गर्नुपर्ने दायीत्व रहेको छ ।
पछिल्लो चरणमा न्युयोर्क सिटीभित्र बढेका गोलीकाण्ड र अपराधका घटनाले गर्दा न्युयोर्क सिटीलाई सुरक्षित बनाउनुपर्ने दायीत्व अझै धेरै बढेको छ । कानून कार्यान्वयन पृष्ठभूमिका एरिक आडम्सले शान्ति सुरक्षा कायम गर्ने सन्दभएको एजेण्डामा न्युयोर्कबासीको मन जित्न सफल भएका थिए ।

एरिक आडम्सका साथमा न्युयोर्क सिटी काउन्सिल चुनावमा नेपाली मूलको पहिलो उम्मेदबार बनेर इतिहास कायम गर्न सफल नवराज केसी ।एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन् । उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरिएको थियो ।साथै नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए ।

आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।
न्युयोर्कमा नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र ज्याक्सनहाइट र एल्महस्र्ट लगायतलाई समेटेको डिस्ट्रिक्ट २५ डेमोक्रेटिक प्राइमरीमा शेखर कृष्नन विजयी भएका थिए । डेमोक्र्याट्सको नियन्त्रण भएको यो क्षेत्रमा भोलिको चुनाव पनि उनले नै जित्ने लगभग निश्चित छ ।





