ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन शाकीलाई कोरोना संक्रमण, मंगलबार बाइडेनसँग भएको थियो भेट
प्रकाशित मिति : कार्तिक १४, २०७८ आईतबार
ह्वाइट हाउस प्रेस सेक्रेटरी जानिफर साकी
ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन शाकीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनले मंगलबारमात्र राष्ट्रपति जो बाइडेनलाई भेटेकी थिइन् ।
शाकीका परिवारका सदस्यहरुलाई कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको हो । बाइडेनको अन्तर्राष्ट्रिय भ्रमण सुरु हुनु ठीक अगाडि शाकीले मास्क लगाएर बाइडेनलाई बाहिर भेटेको जनाएकी छिन् ।
परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टी भए लगत्तै शाकीले राष्ट्रपति बाइडेनसँग विदेश यात्रा नगर्ने निर्णय गरेकी थिइन् । ह्वाइट हाउसको बरिष्ठ नेतृत्व र मेडिकल टिमसँगको परामर्शमा यस्तो निर्णय लिइएको शाकीले बताएकी छिन् ।
बुधबार पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । त्यस्तै बिहिबार, शुक्रबार र शनिबार पनि परीक्षण गर्दा नेगेटिभ देखिएकोमा आइतबार परीक्षण गर्दा भने पोजेटिभ देखिएको थियो । बुधबारदेखि नै शाकी क्यारेन्टीनमा रहदै आएकी छिन् ।
शाकीले कोरोनाबिरुद्धको भ्याक्सिन समेत लगाएकी थिएन् । उनले आफूमा सामान्य लक्षणहरुमात्र देखिएको र घरैबाट काम गरिरहेको जानकारी दिएकी छिन् । १० दिनको क्वारेन्टीन र नेगेटिभ कोरोना परीक्षणको नतिजापछि नियमित काममा फर्कने उनले जानकारी दिएकी छिन् ।






