बुस्टर डोजका लागि एफडीएसमक्ष जोन्सन एण्ड जोन्सनको आवेदन, बुस्टर डोज दिंदा एन्टीबडी १२ गुणा बृद्धि


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

एकडोजमात्र लगाए पुग्नेगरी स्वीकृत कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनले थप बुस्टर डोजका लागि अमेरिकाको एफडीएसमक्ष आवेदन दिएको छ । एक डोज जोन्सन एण्ड जोन्सन लगाएकाहरुमध्ये बुस्टर डोज कस्ले र कहिलेदेखि लिनुपर्ने भन्नेबारे कम्पनीले कुनै सिफारिस नगरी सबै अधिकार सीडीसी र एफडीएमाथि नै छाडेको छ ।

आफूहरुले तथ्यांकहरुको व्याख्या गर्ने र सोही आधारमा एफडीएले उपयुक्त निर्णय लिने अपेक्षा गरेको कम्पनीले जनाएको छ । जोन्सन एण्ड जोन्सन र मोडेर्नाको बुस्टर डोजबारे छलफल र निर्णय गर्न एफडीएको सल्लाहकार समितिको बैठक अक्टोबर १४ र १५ मा बस्ने भएको छ ।

जोन्सन एण्ड जोन्सनको बुस्टर डोज पहिलो डोज लगाएको दुईमहिनापछि लगाउँदा भ्याक्सिनको प्रभावकारिता उच्च भएको तथ्यांक गतमहिना सार्वजनिक गरिएको थियो । बुस्टर डोज लगाउँदा कोरोनाको लक्षणसहितको संक्रमण रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको थियो । जोन्सन एण्ड जोन्सन भ्याक्सिनको दुईडोज मोडेर्ना वा फाइजरको दुईडोजसँगै तुलना गर्न सकिनेगरी प्रभावकारी देखिएको छ ।

एकडोजमात्र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुले दोश्रो बुस्टर डोज लगाउँदा प्रतिरोधात्मक क्षममा अझ बढी देखिएको कम्पनीले जनाएको छ । साथै बुस्टर डोज लगाउँदा कोरोना संक्रमण हुनबाट बलियो तरिकाले जोगाउनुपर्ने समेत कम्पनीको भनाई छ । जोन्सन एण्ड जोन्सन कम्पनीले आफ्नो जान्सेन भ्याक्सिनबारेका तीन अध्ययनका विवरणहरु सार्वजनिक गरेको थियो ।

एकमात्र डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुले बुस्टर डोज लगाउँदा कोरोनाबिरुद्धको संरक्षण लामो समय प्राप्त हुने अध्ययनले देखाएको छ । तर एकडोजमात्र भ्याक्सिनले पनि कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनबाट जोगाउन बलियो संरक्षण प्रदान गरेको जान्सेन रिसर्च एण्ड डेभलपमेन्टका विश्व प्रमुख डाक्टर माथाई मामेनले बताएका छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई अमेरिकामा एफडीएले यसैबर्षको फरबरी २७ मा स्वीकृत गरेको थियो । अमेरिकामा झण्डै डेढ करोडले यो भ्याक्सिन लगाइसकेका छन् । कम्पनीको अहिले संचालित दोश्रो चरणको परीक्षणमा दुईडोज वाला जोन्सन एण्ड जोन्सनको भ्याक्सिन अमेरिकामा ५६ दिनको अन्तरालमा लगाउँदा सिकिस्त हुनबाट रोक्न शतप्रतिशत र ठीक्कको संक्रमणबाट रोक्न ९४ प्रतिशत प्रभावकारी पाइएको हो । विश्वव्यापी तथ्यांक हेर्दा सामान्यदेखि सिकिस्त हुनबाट रोक्न समग्रमा ७५ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।

एकमात्र डोज लगाए पुग्नेगरी स्वीकृत जोन्सन एण्ड जोन्सनको एक डोज लगाएकाहरुलाई ६ महिनापछि बुस्टर डोज दिंदा एन्टीबडीमा १२ गुणा बृद्धि भएको पाइएको छ । दुईमहिनाको अन्तरलामा दोश्रो डोज दिंदा जम्मा ४ गुणाबृद्धि देखिएकोमा ६ महिनापछि दिंदा १२ गुणा बृद्धि देखिएको हो । त्यस्तै बुस्टर डोज ६ महिनापछिमात्र लिंदा बढी संरक्षण प्राप्त हुने देखिएको चिकित्सकहरुको भनाई छ ।

अमेरिकामा हालै एफडीए र सीडीसीले ६५ बर्षभन्दा माथिकालाई र उच्च जोखिममा रहेकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरको तेश्रो बुस्टर डोज स्वीकृत गरेका छन् । अहिले फाइजरको बुस्टर डोज दिने क्रम चलिरहेको छ ।

६५ बर्षभन्दा माथिका, दीर्घकालिन हेरचाह केन्द्रमा रहनेहरु र स्वास्थ्य समस्या भएका निश्चित व्यक्तिहरुका लागि फाइजरको बुस्टर डोज स्वीकृत गरिएको हो । त्यस्तै १८ बर्ष माथिका उच्च जोखिममा रहेका क्यान्सर, स्ट्रोक, मृगौला रोग, मधुमेह, मुटुरोग लगायतबाट पीडितहरुका लागि पनि बुस्टर डोज स्वीकृत गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले फाइजरको बुस्टर डोज लगाइसकेका छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com