ट्रम्पले ह्वाइट हाउसमा सुटुक्क लगाएको भ्याक्सिन फाइजर, बुस्टर डोज लगाउनसक्ने


प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार

डोनाल्ड ट्रम्प र उनकी पत्नीले ह्वाइट हाउसमा छँदा नै गोप्य तरिकाले लगाएको कोरोनाबिरुद्धको भ्याक्सिन फाइजर भ्याक्सिन रहेको ट्रम्पले आफै खुलासा गरेका छन् । उनीहरुले जनवरीमा कोरोनाबिद्धको भ्याक्सिन लगाएपनि यसबारेमा सार्वजनिक रुपमा बताएका थिएनन् ।

ट्रम्प दम्पत्तिले जनवरीमा भ्याक्सिन लगाएपनि मार्चसम्म उनीहरुले भ्याक्सिन लगाएको सार्वजनिक भएको थिएन । पछि उनका सल्लाहकारले यसबारे खुलासा गरेपनि कुन भ्याक्सिन भन्नेबारे बताएका थिएनन् । शनिबारको एक अन्तरवार्तामा ट्रम्पले आफूले फाइजर भ्याक्सिन लगाएको र आवश्यक ठानेको खण्डमा तेश्रो बुस्टर डोज पनि लगाउने बताएका छन् ।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले डिसेम्बरमा सार्वजनिक रुपमा नै टेलिभिजनबाट प्रशारण हुनेगरी कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका थिए । तर त्यसको केहीदिनपछि ट्रम्प दम्पत्तिले सुटुक्क भ्याक्सिन लगाएको खुलासा भएको थियो । पूर्व राष्ट्रपतिहरु बराक ओबामा, जर्ज बुस र बिल क्लीन्टनले पनि सर्वसाधारणलाई भ्याक्सिनका लागि प्रेरित गर्दै सार्वजनिक रुपमा भ्याक्सिन लगाएका थिए ।

पूर्व राष्ट्रपति जिम्मी कार्टरले पनि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका थिए । तर सुरुमा कोरोनालाई नै नक्कली बताउँदै आएका ट्रम्पले महामारीमा मास्कको प्रयोग आवश्यक नभएको बताउँदै आएका थिए ।

ट्रम्प राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो । अन्य देशहरुले भाइरसको महामारी नियन्त्रणका लागि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेमा जोड दिएपनि ट्रम्पले भने त्यसको बेवास्ता गरेका थिए । जसका कारण उनी आफै पनि संक्रमित भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com