७१ वटा देश, जहाँ चाइनिज भ्याक्सिन भेरोसेललाई पनि खोप प्रमाणका रुपमा स्वीकार गरिन्छ


प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार

नेपालमा सबैभन्दा धेरै चाइनिज भ्याक्सिन भेरोसेल वितरण गरिएको छ । तर अमेरिका, बेलायत र युरोपका कैयन मुलुकहरुले आफ्नो देशमा यात्रा गर्नका लागि भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई मान्यता दिएका छैनन् वा भेरोसेललाई खोप प्रमाणका रुपमा स्वीकार गरेका छैनन् । यद्यपी भेरोसेल भ्याक्सिनलाई यात्राका लागि मान्यता दिने वा खोप प्रमाणका रुपमा स्वीकार गर्ने देशहरुको संख्या नेपालसहित ७१ पुगेको छ ।

अमेरिकामा अहिलेसम्म मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनलाई प्रयोगका लागि स्वीकृत गरिएको छ । अहिलेसम्म भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई अमेरिकामा मान्यता दिइएको छैन अर्थात् खोप प्रमाणका रुपमा भेरोसेल स्वीकृत छैन । तर नोभेम्बरदेखि भ्याक्सिन लगाएका अन्तर्राष्ट्रिय यात्रुहरुलाई अमेरिका प्रवेशको अनुमति दिने योजना बनाएको अमेरिकाले भेरोसेल लगाएकाहरुलाई मान्यता दिने वा नदिने स्पष्ट छैन ।

बेलायतमा पनि भेरोसेललाई खोप प्रमाणका रुपमा स्वीकृति दिइएको छैन । युरोपियन मेडिसिन एजेन्सीबाट स्वीकृत भ्याक्सिनहरु नै बेलायतमा स्वीकृत छन् । साइनोफार्म कम्पनीले उत्पादन गरेको र मेमा विश्व स्वास्थ्य संगठनबाट आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो ।

यो भ्याक्सिन लगाएकाहरुलाईलाई स्पेनमा भने खोप प्रमाणका रुपमा मान्यता दिइएको छ । युरोपियन युनियनभित्रका अधिकांश देशले युरोपियन मेडिसिन एजेन्सीबाट स्वीकृत भ्याक्सिन लगाएकालाईमात्र खोप प्रमाणमा रुपमा स्वीकृति दिइरहँदा स्पेनले भने भेरोसेल खोप प्रमाणका रुपमा स्वीकार गर्ने पहिलो देश हो । युरोपियन युनियनमा त्यसपछि अरु केही देशले पनि भेरोसेललाई खोप प्रमाणका रुपमा मान्यता दिए ।

अमेरिकामा लागु भ्याक्सिन पासपोर्ट ।

भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई खोप प्रमाणका रुपमा स्वीकृति दिने मुलुकहरुको संख्या बढ्दो रहेको छ । अहिलेसम्म अंगोला, अर्जेन्टिना, अष्ट्रिया, बहराइन, बंगालादेश, बेलारुस, बेलिज, बोलिभिया, ब्राजिल, बु्रनेइ दारुसलाम, कम्बोडिया, केप भर्ड, चाड, चीन, कोमोरस, साइप्रस इजिप्ट, फिनल्याण्ड, ग्याबन, गाम्बिया, जर्जिया, ग्रिस, गायना, हंगेरी, आइसल्याण्ड, इन्डोनेशिया, इरान, इराक, जोर्डन, किर्गिस्तान, लाओस, लेबनान, मकाउमा भेरोसेल लगाएको प्रमाणलाई खोप प्रमाणको रुपमा स्वीकार गरिएको छ ।

त्यस्तै मेसेडोनिया, मलेसिया, मालदिभ्स, मौरिटानिया, मौरिसस, मंगोलिया, मन्टेनेग्रो, मोरक्को, मोजाम्बिक, नामिबिया, नेपाल, नेदरल्याण्डस, नाइजर, पाकिस्तान, प्यालेस्टिनियन भूभाग, पाराग्वे, पेरु, फिलिपिन्स, सेनेगल, सर्विया, शेशेल्स, सिरिया लिओन, सोलोमन आइल्याण्ड, सोमालिया, स्पेन, श्रीलंका, स्वीडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, ट्रिनिडाड एण्ड टोबागो, ट्युनिसिया, यूएई, उज्वेक्सितान, भेनेजुएला, भियतनाम र जिम्बाबेमा पनि भेरोसेल लगाएको प्रमाणलाई खोप प्रमाणको रुपमा स्वीकार गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com