आइपुग्यो जापानले दिएको आष्ट्राजेनेका खोप, कोभिशिल्डको पहिलो डोज लगाएकाले पाउने आशा
प्रकाशित मिति : श्रावण २३, २०७८ शनिबार
नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै
जापान सरकारले उपलव्ध गराइएको आष्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो ।
कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने तय भएको हो । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन ।
अब ज्येष्ठ नागरिकले ५ महिनापछि कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन पाउने भएका छन्। गत फागुनको अन्तिम साता पहिलो डोजका रुपमा कोभिशिल्ड लगाएकाहरुले दोस्रो डोज पाउन सकेका थिएनन्। कोभिशिल्ड पनि आष्ट्राजेनेकाले नै विकाश गरेको खोप हो । नाममात्र फरक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो डोज लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउने जनाएको हो ।
सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप आष्ट्राजेनेका लगाउने तयारी गरेको छ। भुटानले उपलब्ध गराएको २ लाख ३० हजार आष्ट्राजेनेका खोप शुक्रबार बिहान काठमाडौं आइसकेको छ ।





