नेपालमा वितरित चिनियाँ खोप भेरोसेलबारे जान्नैपर्ने ६ कुरा


प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार

नेपालमा साइनोफार्म समुह अन्तरगतको चिनियाँ खोप भेरोसेल वितरण भइरहेको छ । यो भ्याक्सिनबारे जान्नैपर्ने केही कुराहरु यहाँ प्रस्तुत गरेका छौं ।

यो भ्याक्सिन कति उमेरको व्यक्तिले लगाउन सक्छ ?

यो भ्याक्सिन १८ बर्षभन्दा माथिकाहरुलाई लगाउन अनुमति दिइएको छ । मे ६ मा विश्व स्वास्थ्य संगठनले यो भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको हो ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

गर्भवती महिलाले यो भ्याक्सिन लगाउन हुन्छ ?

गर्भवती महिलाहरुमा भ्याक्सिनको प्रभावकारिता वा जोखिमबारे प्रयाप्त तथ्यांक अहिलेसम्म उपलब्ध छैन । तर यो भ्याक्सिन अन्य कैयन भ्याक्सिनमा नियमित प्रयोग हुने प्रणालीबाट बनाइएको र त्यसको प्रोफाइल गर्भवती महिलाहरु लगायतका लागि समेत सुरक्षित भएकाले गर्भवती महिलाले यो भ्याक्सिन गर्भवती महिलाहरुमा पनि प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ ।

विश्व स्वास्थ्य संगठनले पनि अन्तरिम रुपमा यो भ्याक्सिन गर्भवती महिलाहरुलाई पनि लगाउन सिफारिस गरेको छ । जोखिमको तुलनामा गर्भवती महिलालाई भ्याक्सिन लगाउँदा फाइदा धेरै हुने विश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको छ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन लगाउनु अगाडि गर्भवती भए नभएको परीक्षण गर्न भने सिफारिस गरेको छैन ।

अरु कस्ले लगाउन सक्छ यो भ्याक्सिन ?

विगतमा कोरोना संक्रमण भएकाले पनि यो भ्याक्सिन लगाउन सक्छन् । सामान्यतया कोरोना संक्रमणभएको ६ महिनाभित्र अर्को पटक संक्रमण हुने अवस्था असाधारण भएकाले संक्रमण भएको ६ महिनापछिमात्र भ्याक्सिन लगाउँदा उपयुक्त हुने सुझाव छ । तर जहाँ कोरोनाका नयाँ प्रकारहरु फैलिरहेका छन्, त्यहाँ भने ६ महिना नकुर्न सुझाव दिइएको छ ।

यो भ्याक्सिनको प्रभावकारिता अन्य बयस्क महिलाहरुजस्तै स्तनपान गराउने महिलाहरुमा पनि उस्तै हुने अपेक्षा गरिएको छ । विश्व स्वास्थ्य संगठनले अन्य महिलाहरुजस्तै स्तनपान गराउने महिलालाई पनि भ्याक्सिन लगाउन सिफारिस गरेको छ । भ्याक्सिन लगाएपनि स्तनपान रोक्न विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छैन ।

एचआईभी संक्रमितहरु कोरोनाबाट सिकिस्त हुने उच्च जोखिममा हुन्छन् । एचआईभी संक्रमितहरु परीक्षणमा सहभागी नभएपनि यो भ्याक्सिन एचआईभी संक्रमितहरुलाई प्राथमिकताका साथ दिन सिफारिस गरिएको छ ।

भ्याक्सिन कस्ले लगाउनु हुँदैन ?

विगतमा खानेकुरा, भ्याक्सिन वा अन्य कुनै पनि प्रकारको एलर्जीको इतिहास भएकाहरुले यो भ्याक्सिन लगाउनु हुँदैन । ३८ दशमलव ५ डिग्री सेल्सियस भन्दा धेरै शरीरको तापक्रम भएकाहरुलाई पनि तत्काल यो भ्याक्सिन नलगाउन सुझाव दिइएको छ । उनीहरुले ज्वरो निको भएपछि भने भ्याक्सिन लगाउन सक्नेछन् ।

यो भ्याक्सिन कति डोज लगाउनुपर्छ ?

यो भ्याक्सिन दुईडोज लगाउनुपर्छ । हरेक डोज शुन्य दशमलव ५ मिलिलिटरको हुन्छ । पहिलो डोज लगाएको तीनदेखि चार हप्ताभित्र दोश्रो डोज लगाउन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यदि कसैले पहिलो डोज लगाएको तीनसाता अगाडि नै दोश्रो डोज लगाएको छ भने पनि दोहोराएर लगाउनु नपर्ने विश्व स्वास्थ्य संगठनको भनाई छ । चारहप्ता भन्दा ढिलो भएमा पनि यथाशीघ्र लगाउन सुझाव दिइएको छ । तर सबैलाई दुई डोज लगाउन सिफारिस गरिएको छ ।

के यो भ्याक्सिन सुरक्षित र प्रभावकारी छ ?

१८ बर्षदेखि ६० बर्षसम्मका व्यक्तिलाई यो भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको तथ्यांक रहेको छ । ६० बर्षमाथिका व्यक्ति परीक्षणमा कममात्र सहभागी भएकाले प्रयाप्त तथ्यांक छैन । तर कम उमेरका र बढी उमेरकाहरुमा सुरक्षाको अवस्थाबारे कुनै फरक नभएकाले यो भ्याक्सिन ६० बर्षमाथिकाहरुलाई पनि दिइएको छ । ६० बर्षमाथिकाहरुलाई भ्याक्सिन दिएका मुलुकहरुलाई उनीहरुको सुरक्षा अवस्थाको सकृय निगरानी राख्न सुझाव दिइएको छ ।

यो भ्याक्सिन २१ दिनको अन्तरालमा २ डोज लगाउँदा ७९ प्रतिशत प्रभावकारी देखिएको छ । दोश्रो डोज लगाएको १४ दिनपछि लक्षणसहितको संक्रमण रोक्न यो ७९ प्रतिशत प्रभावकारी देखिएको हो । त्यस्तै अस्पताल भर्ना हुनेगरी सिकिस्त हुनबाट रोक्न पनि ७९ प्रतिशत प्रभावकारी रहेको छ ।

(विश्व स्वास्थ्य संगठनबाट जारी जानकारीको खसोखासबाट अनौपचारिक अनुवाद)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com