कोरोनासम्बन्धी प्राय: सबै प्रतिबन्धहरुलाई बिदाइ गर्दै क्यालिफोर्निया खुल्ला


प्रकाशित मिति : असार १, २०७८ मंगलबार

Aerial view of a city at sunset lit up

गतबर्ष कोरोनाकाे महामारी सुरु भएपछि अमेरिकामा पहिलोपटक लकडाउन गर्ने क्यालिफोर्निया कोरोना सम्बन्धि प्राय सबै प्रतिबन्धहरुलाई विदाई गर्दै खुल्ला भएको छ । झण्डै एकबर्ष लामो महामारीको कहालीलाग्दो कहरपछि क्यालिफोर्नियामा नयाँ अध्यायको सुरुवात भएको छ।

मध्यरातमा क्यालिफोर्नियाले प्राय सबै प्रतिबन्ध हटाएर ग्रयाण्ड ओपनिङको घोषणा गरेको हो । मंगलबारदेखि लागू हुनेगरी क्यालिफोर्नियामा सामाजिक दुरीको नियम हटाइएको छ । साथै रेष्टरेण्ट, बार, सुपरमार्केट, जिम र स्टेडियम लगायत कुनै पनि स्थानमा कुनै प्रतिबन्ध लगाइएको छैन । पूर्ण क्षमतामा संचालन गर्न सकिनेछ ।

भ्याक्सिन लगाएकाहरुले अधिकांश स्थानमा मास्क लगाउन अनिवार्य छैन तर केही विजनेश र काउन्टीहरुमा मास्क आवश्यक पर्नसक्छ । क्यालिफोर्नियाको यो घोषणासँगै यो राज्य अब सामान्यीकरण तर्फ फर्केको सन्देश दिन चाहेको छ । झण्डै १५ महिनापछि अर्थतन्त्र पूर्णरुपमा खुलेको छ भने व्यक्तिहरु महामारी अगाडिकै तरिकाबाट गतिविधि गर्नसक्ने भएका छन् ।

सुरुमा क्यालिफोर्नियाबासीका लागिमात्र खुलेको डिज्नील्याण्ड सबै पर्यटकका लागि खुला भइसकेको छ भने लस एन्जलसदेखि सान फ्रान्सिस्कोसम्मका बारहरुमा मानिसहरु रमाउनसक्ने भएका छन् । क्यालिफोर्नियामा महामारीका कारण सबैभन्दा प्रभावित पर्यटन, रेष्टुरेण्ट लगायतका व्यवसायहरु भएका थिए ।

क्यालिफोर्निया खुलाको घोषणासँगै गभर्नर गेभिन न्युसोमले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुका लागि लोटरी खोल्ने भएका छन् । जस अन्तरगत १० जनाले १५ लाख डलरका दरले पुरस्कार पाउनेछन् । पूर्णरुपमा भ्याक्सिन लगाएपछि विजेताहरुले रकम पाउनेछन् । क्यालिफोर्नियामा भ्याक्सिनका लागि प्रोत्साहन गर्न ११६ मिलियनको लोटरी कार्यक्रम घोषणा गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com