भारतबाट खोप ल्याउन भुक्तानी, फागुनभरमा ४० लाख डोज भ्याक्सिन, प्राथमिकतामा ६० बर्षमाथिका
कोरोनाबिरुद्धको विरुद्धको कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारले खोप उत्पादक कम्पनी सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ । बिहीबार स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि रकम दिएको हो ।
विश्व स्वास्थ्य संगठनबाट अनुदान स्वरुप उपलब्ध हुने कोभ्याक्स सुविधाअन्तर्गत अन्तरिम खोप वितरण योजनामा सिरम इन्स्टिच्युटमा उत्पादित २२ लाख ५६ हजार खोप नेपाललाई फेब्रुअरी महिनाको अन्त्यबाट उपलब्ध गराउने जनाइएको थियो । तर उक्त खोप आउनमा ढिलाई हुने भएपछि नेपाल सरकारले आफै २० लाख डोज भ्याक्सिन खरिद गर्ने निर्णय गरेको हो ।
कम्पनीको सर्तअनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको नेपाल सरकारले एक डोज ४ डलरका दरले रकम पठाएको हो ।
कम्पनीले दुई हप्ताभित्र खोप पठाउने प्रतिबद्धता जनाएको छ । खोप दुई चरणमा दश दश लाख डोजको दरले डेलिभर गरिनेछ ।

उक्त खोप आइसकेपछि फागुन २३ वा अझ अगाडिबाटैु ६० बर्षभन्दा माथि उमेर समूहका मानिसहरूलाई खोप दिन थालिने भएको छ । फागुन २३ भन्दा अगाडि नै खोप उपलब्ध भए ६० वर्षभन्दा माथिका व्यक्तिलाई अझ अगाडि नै खोप दिन सुरु गरिने जनाइएको छ । ६० वर्षभन्दा माथिका नेपालीहरुको संख्या झण्डै ३० लाख भएको अनुमान गरिएको छ ।
अबको चरणमा खोप केन्द्रहरूमार्फत् खोप दिलाइने भएको छ । त्यसको निम्ति ६० वर्ष माथिका मानिसहरूले नागरिकता वा अन्य सरकारी परिचयपत्र बोकेर पायक पर्ने खोप केन्द्रमा जानुपर्नेछ । डाइलायसिस गराइरहेका वा क्यान्सर रोगीहरूलाई पनि प्राथमिकता दिइने भएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप पनि फागुनभरमा नेपाल आउने जनाइएको छ । यसो भएमा फागुनभरमा नेपालसँग थप ४० लाख डोजभन्दा धेरै भ्याक्सिन उपलब्ध हुनेछ । चीनले नेपाललाई ३ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन अनुदान दिने बताएको र चाइनिज खोप भेरो सेललाई नेपाल सरकारले प्रयोगका लागि अनुमति दिएकाले उक्त खोप पनि छिटो आउने अपेक्षा गरिएको छ ।
भेरोसेल खोप चाइनिज कम्पनी सिनोफार्मले बनाएको हो । उक्त खोपलाई नेपालको औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको थियो । नेपालस्थित चिनियाँ दूतावासका अधिकारी लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको बताएका थिए ।

सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको चीनको दाबी छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म ३ करोड बढीलाई दिइसकेको जनाइएको छ ।
उक्त खोपको प्रभावकारिता ७९ दशमलव ३४ प्रतिशत रहेको दावी गरिएको छ । यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका कैयन राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ ।
नेपालमा माघको दोश्रो सातादेखि भारतले अनुदानमा दिएको कोभिशिल्ड खोप लगाउने क्रम जारी रहेको छ । अक्सफोर्ड आष्ट्राजेनेकाले विकाश गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप गत ८ माघमा भारतले १० लाख डोज नेपाललाई अनुदानस्वरूप दिएको थियो ।
पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुलाई दिइएको उक्त खोप दोश्रो चरणमा पत्रकार र कुटनीतिज्ञहरुलाई दिइएको छ । खोप अभियान आरम्भ भएको तीन साता पुग्न लाग्दा हालसम्म दुई लाखभन्दा बढीले खोप लगाएका छन्।





