पहिलो चरणमा एक लाख ८४ हजारले लगाए ‘कोभिशिल्ड’ खोप
पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २ सय १ खोप केन्द्रबाट एक लाख ८४ हजार ८ सय ५७ जनालाई दिइएको छ ।
जसअनुसार प्रदेश नम्बर १ मा २४ हजार २ सय २४, प्रदेश नम्बर २ मा २५ हजार ६ सय ३७, बागमती प्रदेशमा ६३ हजार ३ सय ८, गण्डकी प्रदेशमा १८ हजार ४ सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१, कर्णाली प्रदेशमा नौ हजार ४ सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८ सय ५५ जना छन् ।
मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कुल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ ।
नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।





