कोरोनाबिरुद्धको रसियन भ्याक्सिन ‘स्पुतनिक भी’ ९२ प्रतिशत प्रभावकारी
प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार
कोरोनाबिरुद्धको रसियन भ्याक्सिन स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी रहेको बैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् । पछिल्लो चरणको क्लीनिकल परीक्षणको नतिजाको पुनरावलोकन गर्दा यो भ्याक्सिनको उच्च प्रभावकारिता पुष्टी भएको हो ।
तेश्रो चरणको परीक्षणको नतिजाबाट अब विश्वमा कोरोनाबिरुद्ध लड्ने थप हतियार प्राप्त भएको विज्ञहरुले बताएका छन् । यो भ्याक्सिनको पारदर्शिता र विकाशबारे प्रश्न उठाइदै आएको थियो भने सबै चरणका क्लीनिकल परीक्षण विना नै रसियामा स्वीकृति दिइएको थियो ।
तर अहिले सार्वजनिक भ्याक्सिनबारेका तथ्यांकहरु भने पारदर्शी रहेको जनाइएको छ । १९ हजार ८ सय ६६ जनामा गरिएको परीक्षणबाट भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी रहेको निचोड निकालिएको हो । उनीहरुमध्ये एक चौथाईले भने भ्याक्सिनका नक्कली शट प्राप्त गरेका थिए ।

मस्कोमा परीक्षण सुरु भएदेखि वास्तविक भ्याक्सिन लगाएका १६ जनामा मात्र लक्षण सहितको कोरोना संक्रमण देखिएको थियो । त्यस्तै नक्कली शट लगाएका ६२ जनामा लक्षणसहितको कोरोना संक्रमण देखिएको थियो ।
यो भ्याक्सिनको पनि दुई शट दिन आवश्यक छ । पहिलो शट लगाएको २१ दिनपछि दोश्रो शट दिन आवश्यक रहेको जनाइएको छ । लक्षणसहितको कोरोना संक्रमण रोक्न यो भ्याक्सिन ९१ द्यशमलव ६ प्रतिशत प्रभावकारी देखिएको छ ।
फाइजर र मोडेर्नाको भ्याक्सिन अमेरिकामा लगाउन सुरु भइसकेको छ भने बेलायतमा उत्पादन गरिएको आष्ट्राजेनेका भ्याक्सिन पनि बेलायतसहित विभिन्न देशमा लगाउन सुरु गरिएको छ । मोडेर्ना भ्याक्सिन पनि ९५ प्रतिशत प्रभावकारी देखिएको छ । त्यसपछि स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी देखिएको हो । आष्ट्राजेनेका भ्याक्सिनको प्रभावकारिता औषतमा ७० प्रतिशत छ ।
स्पुतनिक भी पनि सामान्य फ्रिजको तापक्रममा राखे पुग्छ । रसियाले क्लीनिकल परीक्षण विना नै अगस्तमा भ्याक्सिन स्वीकृत गरेपनि डिसेम्बरमा भ्याक्सिन लगाउन सुरु गर्दा केही फ्रन्टलाइनर स्वास्थ्य कार्यकर्ताहरुले भ्याक्सिन लगाएका थिए । जनवरीमा सबै रसियनलाई भ्याक्सिन अफर गरिएको थियो ।






