समलिंगी नेता बुटाजज बने अमेरिकी इतिहासमै कम उमेरका मन्त्री
प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार
समलिंगी नेता पिट बुटाजजको नाम सिनेटले राष्ट्रपति जो बाइडेनको यातायातमन्त्रीका लागि पारित गरेको छ । आफैसँग राष्ट्रपति चुनावको डेमोक्रेटिक प्राइमरीमा प्रतिस्पर्धामा आएका पूर्व मेयर पिट बुटाजजलाई बाइडेनले यातायात मन्त्रीमा छानेका हुन् । बुटाजजले सुपर ट्युजडे प्राइमरी अगाडि नै आफ्नो चुनावी दौड रोकेर बाइडेनलाई समर्थन गरेका थिए ।
बाइडेनले बुटाजजलाई आफ्ना दिवंगत छोरासँग तुलना गरेका थिए । हार्भड कलेज र अक्सफोर्ड युनिभर्सिटीका ग्रयाजुएट बुटाजजले अमेरिकी सेनाका पूर्व लेफ्टिनेन्ट समेत हुन् । उनले त्यहाँ खुफिया अधिकारीका रुपमा काम गरेका थिए । इन्डियानाको साउथ बेण्डका मेयर समेत भएका उनी सन् २०१५ मा समलिंगीका रुपमा सार्वजनिक भएका थिए ।
अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने पहिलो खुल्ला समलिंगी उम्मेदबार बुटाजजले यातायात मन्त्रीका रुपमा ५५ हजार कर्मचारीहरुको नेतृतव गर्नेछन् । बाइडेनले आफ्नो क्याबीनेट समावेशी बनाउने क्रममा बुटाजजलाई छानेका हुन् ।
बुटाजज अमेरिकाका १९ औैं यातायातमन्त्री हुनेछन् । बाइडेनको मन्त्रिपरिषद्का लागि सिनेटबाट स्वीकृत उनी पाँचौं व्यक्ति हुन् । उनी अमेरिकी इतिहासमा मन्त्रिपरिषद्मा नियुक्त पहिलो खुला समलिंगी हुन् । ३९ बर्षीय बुटाजज अमेरिकी मन्त्रिपरिषद्मा अहिलेसम्मकै कम उमेरका मन्त्रि भएका छन् ।
यस अगाडि सिनेटबाट अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनको नाम स्वीकृत भएको थियो । सिनेटमा भएको मतदानमा उनका पक्षमा ७८ र विपक्षमा २२ मत खसेको थियो । राष्ट्रपति जो बाइडेनका लामो समयदेखिका सल्लाहकार ब्लीङकेनले अमेरिकाको अत्यन्तै महत्वपूर्ण मानिने विदेश मन्त्रालयको नेतृत्व गरेका छन् ।
ब्लीङकेन लामोसमयदेखि विदेश नीतिका सल्लाहकार रहँदै आएका थिए । ओबामा राष्ट्रपति हुँदा उनले उपविदेशमन्त्री र राष्ट्रिय सुरक्षा उपसल्लाहकारका रुपमा काम गरेका थिए ।
उनले ओबामा प्रशासनका बेलामा विदेश नीतिका सन्दर्भमा मुख्य भूमिका खेलेका थिए । क्रिमियामाथि रसियाको आक्रमणको कस्तो प्रतिकृया जनाउनेदेखि ओसामाबिन लादेनमाथिको आक्रमण र आईसीसबिरुद्धको लडाईमा उनले मुख्य भूमिका खेलेका थिए ।

ब्लीङकेनले बिल क्लिन्टनका पालामा समेत राष्ट्रिय सुरक्षा परिषदमा काम गरेका थिए । उनले युरोप मामलाका लागि बरिष्ठ निर्देशकका रुपमा समेत काम गरेका थिए । उनी क्लिन्टनको विदेश नीतिबारे भाषण लेख्ने प्रमुख व्यक्ति समेत थिए । ट्रम्पले बिभिन्न देशसँग बिगारेको सम्बन्ध सुधार गर्दै अमेरिकी विदेश नीतिलाई सुदृढ गर्नु उनको मुख्य भूमिका हुनेछ ।
५८ बर्षका ब्लीङकेन मध्यमार्गी व्यक्तित्वका रुपमा परिचित छन् । पेरिसमा हाइस्कुलको अध्ययन गरेका उनले हार्भर्डबाट अण्डरग्रयाजुएट डिग्री हासिल गरेका थिए । त्यस्तै कोलम्बियाबाट कानूनको विषयमा डिग्री हासिल गरेका थिए । उनका पिता डोनाल्ड पनि हार्भर्ड ग्रयाजुएट हुन्, जसले हंगेरीका राजदूत भएर समेत काम गरेका थिए ।
ब्लीङकेनले पत्रकार र वकिलका रुपमा काम गरेका थिए । उनी बाइडेनको चुनावी अभियानमा विदेश नीतिको मुख्य अनुहार रहेका थिए । उनले इरान आणविक सम्झौतामा अमेरिकाको पुन प्रवेशका लागि समेत वकालत गर्दै आएका छन् ।

ब्लींकेन अगाडि अमेरिकाको सिनेटले अर्थमन्त्री अर्थात ट्रेजरी सेक्रेटरीमा जानेट यालेनको नाम स्वीकृत गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको ट्रेजरी सेक्रेटरीमा यालेनलाई छानेकोमा सिनेटले उक्त सिफारिस सदर गरेको थियो ।
सिनेटले उनको नाम भारी बहुमतले पारित गरेको हो । ८५ जनाले उनको पक्षमा र विपक्षमा १५ जनाले मतदान गरेका थिए । सबै १५ जना रिपब्लिकनहरु हुन् ।
यालेन अमेरिकी इतिहासमा अर्थमन्त्रीको पदमा पुग्ने पहिलो महिला भएकी छिन् । यालेन फेडरल रिजर्भकी पूर्व अध्यक्ष समेत हुन् । अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रोफेसर समेत रहेकी उनी फेडरल रिजर्भको प्रमुखको जिम्मेबारी सम्हाल्ने समेत पहिलो महिला थिइन् ।
यस अगाडि अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले स्वीकार गरेको थियो । अस्टिन पहिलो अफ्रिकन मुलका अश्वेत अमेरिकन रक्षामन्त्री भएका छन् ।

अस्टिन अमेरिकी सेनाको मध्य कमाण्डका कमाण्डरबाट सन् २०१६ मा रिटायर्ड भएका थिए । नयाँ जागिर लिनका लागि अमेरिकी सेनाबाट सेवानिबृत्त भएको ७ बर्षसम्म कुनुपर्ने प्रावधान रहेकाले उनको नियुक्तीका प्रतिनिधिसभाबाट वेभर पारित गराउनु परेको थियो । त्यसपछि उक्त वेभर सिनेटबाट पारित गरिएको थियो ।
अस्टिनको नियुक्तीका पक्षमा सिनेटमा ९३ मत प्राप्त भएको थियो भने विपक्षमा २ मत प्राप्त भएको थियो । दुईजना रिपब्लिकन सिनेटरहरुले उनको नियुक्तीको विपक्षमा मतदान गरेका थिए ।
त्यस्तै गत साता नै राष्ट्रिय खुफिया एजेन्सीको प्रमुखमा एभ्रिल हेन्सलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले स्वीकार गरेको थियो ।

हेन्स सीआईएको पूर्व सहायक निर्देशक हुन् । उनले ओबामाको कार्यकालमा मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेकी थिइन् । उनको नियुक्ती स्वीकृत भएसँगै अमेरिकाको खुफियामा पहिलोपटक महिला नेतृत्व आएको छ ।
अमेरिकामा राष्ट्रिय खुफिया निर्देशक मन्त्रिस्तरको पद हो । जसले अमेरिकाका विभिन्न १७ वटा खुफिया एजेन्सीहरुको प्रमुखका रुपमा काम गर्छ । जसमा सीआईए, डीआईए, सीजीआई लगायत रहेका छन् ।
सिनेटमा एभ्रिलका नियुक्तीको पक्षमा ८४ र विपक्षमा १० मत खसेको थियो । रिपब्लिकन सिनेटर टम कटनले नियुक्तीबारे विरोध गर्दै आफ्नो प्रश्नको लिखित जवाफ मागेपछि गत बुधबार नै एभ्रिल नियुक्ती स्वीकृत हुनेमा आशंका देखिएको थियो । तर टिम कटनलाई लिखित जवाफ दिइएपछि उनले अवरोध फिर्ता लिएका थिए ।






