महामारी प्रभाव: न्युयोर्कको पहिलो नेपाली रेष्टुरेण्ट अस्थायीरुपमा बन्द, अन्यलाई मुस्किल


प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार

महामारीका कारण अस्थायीरुपमा बन्द भएको न्युयोर्कको हिमालयन याक रेष्टुरेण्ट फोटो: राजन थपलिया/खसोखास

– किशोर पन्थी

‘नमस्ते । टासिदेलेक । हामीले स्थीति राम्रो भएर इन्डोर डाइनिङ संचालन नहुँदासम्मका लागि सबै सेवाहरु अस्थायी रुपमा बन्द गरेका छौं । हामी छिट्टै फर्कने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको चर्चित नेपाली रेष्टुरेण्ट हिमालयन याकमा फोन गर्दा अहिले त्यहाँका कर्मचारीको अभिवादन होइन, यस्तो अटोमेटिक सन्देश आउँछ । यो रेष्टुरेण्ट ७२२० रुजभेल्ट एभिन्युमा रहेको छ ।  यो रेष्टुरेण्ट गत डिसेम्बर २० देखि अस्थायी रुपमा बन्द भएको संचालक ग्याल्सेन गुरुङले जानकारी दिए । खासगरी नेपाली, तिब्बती, भुटनिज र इन्डियन खानाका साथमा लाइभ सुमधुर नेपाली र हिन्दी गीत संगीतका लागि चर्चित यो रेष्टुरेण्ट अब कहिलेदेखि खुल्ने हो केही निश्चित छैन ।

गुरुङ भन्छन् – ‘कहिलेदेखि खुल्ने हो अहिलेसम्म केही निश्चित छैन । इन्डोर डाइनिङ सुचारु नभएसम्म रेष्टुरेण्ट खोल्न सकिने अवस्था छैन । २५ प्रतिशतसम्म इन्डोर डाइनिङ खुल्यो भनेपनि सर्भाइभ गर्न सकिएला कि भन्ने आशा छ । नत्र कहिले खोल्ने ठेगान छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिमालयन याक रेष्टुरेण्टको ढोकामा अस्थायीरुपमा बन्द गरिएको जानकारीसहित टाँसिएको सुचना । फोटो: राजन थपलिया/खसोखास

गभर्नर एन्ड्रयु कुमोले केही योजना ल्याउलान् कि भन्ने उनको आशा छ । उनी भन्छन् – ‘२५ प्रतिशत इन्डोर डाइनिङ खुल्यो भने कम्तीमा काम गर्नेहरुको तलब दिन सकिएला कि भन्ने आशा छ । माथिपट्टी सेभेन ट्रेनको हल्ला र चिसोका कारण आउटडोर डाइनिङ संचालन गर्न गाह्रो भयो । अर्कोतर्फ ठाउको अभावले आउटडोर डाइनिङमा बढीमा १० जनासम्मको मात्र क्षमता भएकाले रेष्टुरेण्टको खर्च धान्न नै मुस्किल भयो । त्यसैले रेष्टुरेण्ट नै बन्द गर्नुपर्ने अवस्था आयो ।’

कर्मचारीहरुको तलब दिन र भाडा तिर्न नै मुस्किल भएपछि रेष्टुरेण्ट बन्द गर्नुपरेको उनले बताए । गुरुङ भन्छन् – ‘हामीले निकै संघर्ष र मिहिनेत गरेका थियौं । मार्चमा बन्द भएको रेष्टेरेण्ट मेमा खोलेर संचालन गर्ने प्रयास समेत गर्यौं । आउटडोर सिटिङ पनि बनायौं । चिसो बढ्दै गयो । इन्डोर डाइनिङ नहुँदा रेष्टुरेण्ट संचालन नै गर्न नसकिने अवस्था आयो ।’

सन् २००४ मा स्थापना भएको यो रेष्टुरेण्ट न्युयोर्कमा नै पहिलो नेपाली रेष्टुरेण्ट हो । सन् २००९ मा केहीसमय मर्मतका लागि बन्द भएको बाहेक अहिलेसम्म यो रेष्टुरेण्ट बन्द गर्नुपरेको थिएन । परम्परागत नेपाली खाना दालभात तरकारीदेखि नेपाली मम र याकका परिकारसमेत पाइने यो रेष्टुरेण्ट नेपाली र गैरनेपालीहरुमाझ अत्यन्तै लोकप्रिय रहेको छ । दुईतलामा संचालन भइरहेको यो रेष्टुरेण्ट नेपाली समुदायका विभिन्न कार्यक्रमहरुका लागि समेत लोकप्रिय स्थल हो ।

हिमालयन याक रेष्टुरेण्टका परिकार । फोटो सौजन्य: हिमालयन याक रेष्टुरेण्ट

यो रेष्टुरेण्टलाई भिलेज भ्वाइसले सन् २००८ मा उत्कृष्ट तिब्बती रेष्टुरेण्टका रुपमा फिचर गरेको थियो । न्युयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलमा पनि यो रेष्टुरेण्टका परिकारबारे फिचर र रिभ्युहरु प्रकाशित भएका थिए ।

न्युयोर्कको ज्याक्सनहाइट क्षेत्र मिनी नेपालका रुपमा परिचित छ । ज्याक्सनहाइट र आसपासमामात्र नेपालीहरुका दर्जनबढी रेष्टेरेण्टहरु संचालनमा रहेका छन् । तीमध्ये केही रेष्टुरेण्टहरु बन्द भएका छन् भने केही रेष्टुरेण्टहरु आंशिक रुपमा मात्र संचालनमा रहेका छन् । नेपालको झल्को मेटाउने ज्याक्सनहाइट कोरोना महामारीका कारण नेपाली आप्रवासीहरुका लागि नै बिरानो बन्दै गएको छ ।

ब्याम्बु हाउसको झोल मम । फोटो सौजन्य: ब्याम्बु हाउस

त्यस्तै ज्याक्सनहाइटमा रहेको ब्याम्बु हाउस एण्ड बार पनि अस्थायी रुपमा बन्द भएको छ । कोरोनाको महामारीका कारण विजनेशमा गिरावट आएपछि र आउटडोर डाइनिङमा समेत चिसोका कारण समस्या भएपछि रेष्टुरेण्ट बन्द गर्नुपरेको संचालक नवराज केसीले जानकारी दिएका छन् ।

रेष्टुरेण्ट विगत तीनमहिनाभन्दा लामोसमयदेखि बन्द भएको छ । रेष्टुरेण्टमा टेकआउट र डेलिभरी पनि बन्द गरिएको छ । स्थीतिमा सुधार आएमा इन्डोर डाइनिङ संचालन गर्न अनुमति प्राप्त भएपछि वा आउटडोर डाइनिङका लागि बाहिरको तापक्रम न्यानो भएपछि रेष्टुरेण्ट खोल्ने योजना बनाएको संचालक केसीले जानकारी दिए ।

सन् २०१८ देखि संचालनमा आएको ब्याम्बु हाउस एण्ड बार कोरोनाको महामारीका कारण पहिलोपटक गतमार्चमा अस्थायीरुपमा बन्द भएको थियो । बीचमा केहीसमय खुलेपनि त्यसले निरन्तरता भने पाउन सकेन । संचालक केसीले भने -‘अहिलेकै अवस्थामा रेष्टुरेण्ट पुन खोलेर संचालन गर्नसकिने अवस्था छैन ।’

ब्याम्बु हाउस एण्ड बार विगत तीनमहिनाभन्दा लामोसमयदेखि बन्द छ । फोटो: राजन थपलिया/खसोखास

एकातिर अस्थायी रुपमा बन्द भएका रेष्टुरेण्टहरु कहिलेदेखि खुल्ने भन्ने निश्चित छैन भने अर्कोतर्फ संचालनमा रहेका रेष्टुरेण्टहरुपनि निकै मुस्किलले चलिरहेका छन् । ज्याक्सनहाइटमा रहेको चर्चित नेपाली रेष्टुरेण्ट मुस्ताङ थकाली किचनका संचालक नविन शेरचन भन्छन् -‘आउटडोर संचालन गर्नका लागि अगाडि धेरै ठूलो ठाउँ छैन । अर्कोतर्फ चिसो बढेकाले पनि आउटडोर संचालन गर्न नसकिएकाले अहिले टेकआउट र डेलिभरीमात्र संचालनमा रहको छ ।’

मुस्ताङ थकाली किचनमा पाइने फापरको ढिंडो । फोटो सौजन्य: मुस्ताङ थकाली किचन

फापरको ढिंडोदेखि स्वादिष्ट नेपाली खानाका लागि यो रेष्टुरेण्ट १२ बर्षभन्दा लामोसमयदेखि परिचित छ । न्युयोर्कबाहिरका नेपालीहरु न्युयोर्क घुम्न आउँदा समेत नेपाली स्वादमा फापरको ढिंडो र सुकुटी खानका लागि यो रेष्टुरेण्टमा पुग्ने गर्थे । नेपालदेखि हजारौं माइल टाढा आएपनि यहाँको खानाले नेपालीहरुलाई नेपालको झल्को मेटाउने गरेको थियो ।

केहीसमय पूर्णरुपमा नै बन्द भएको थकाली किचनमा अहिले टेकआउट र अनलाइन डेलिभरी संचालनमा छ । फोटो: राजन थपलिया/खसोखास

८० प्रतिशतभन्दा धेरै ब्यापार घटेकाले रेष्टुरेण्ट संचालनमा निकै कठिनायी भएको शेरचनले बताए । उनी भन्छन् – ‘अहिलेसम्म त पिकअप र डेलिभरीले जेनतेन धानिएको छ । तर कहिलेसम्म हो केही थाहा छैन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com