अर्थमन्त्रीमा यालेनको नाम सिनेटबाट स्वीकृत, अमेरिकी इतिहासमै पहिलोपटक महिला अर्थमन्त्री
प्रकाशित मिति : माघ १२, २०७७ सोमबार
अमेरिकाको सिनेटले अर्थमन्त्री अर्थात ट्रेजरी सेक्रेटरीमा जानेट यालेनको नाम स्वीकृत गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको ट्रेजरी सेक्रेटरीमा यालेनलाई छानेकोमा सिनेटले उक्त सिफारिस सदर गरेको हो ।
सिनेटले उनको नाम आज भारी बहुमतले पारित गरेको हो । ८५ जनाले उनको पक्षमा र विपक्षमा १५ जनाले मतदान गरेका थिए । सबै १५ जना रिपब्लिकनहरु हुन् ।
शुक्रबार सिनेटको बित्त समितिले गतसाता उनको नाम सर्वसम्मतले पारित गरेको थियो । उनको पक्षमा बित्त समितिका सबै २६ जनाले मतदान गरेका थिए भने विपक्षमा शुन्य मत खसेको थियो ।
यालेनको नियुक्ती स्वीकृतसँगै उनी अमेरिकी इतिहासमा अर्थमन्त्रीको पदमा पुग्ने पहिलो महिला भएकी छिन् । यालेन फेडरल रिजर्भकी पूर्व अध्यक्ष समेत हुन् । अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रोफेसर समेत रहेकी उनी फेडरल रिजर्भको प्रमुखको जिम्मेबारी सम्हाल्ने समेत पहिलो महिला थिइन् ।
यस अगाडि अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले शुक्रबार स्वीकार गरेको थियो । अस्टिन अमेरिकी रक्षामन्त्री हुने पहिलो अफ्रिकन मुलका अश्वेत अमेरिकन भएका छन् ।

अस्टिन अमेरिकी सेनाको मध्य कमाण्डका कमाण्डरबाट सन् २०१६ मा रिटायर्ड भएका थिए । नयाँ जागिर लिनका लागि अमेरिकी सेनाबाट सेवानिबृत्त भएको ७ बर्षसम्म कुनुपर्ने प्रावधान रहेकाले उनको नियुक्तीका प्रतिनिधिसभाबाट वेभर पारित गराउनु परेको थियो । त्यसपछि उक्त वेभर सिनेटबाट पारित गरिएको थियो ।
बिहिबार भएको मतदानले सिनेटमा अस्टिनको नियुक्ती स्वीकृत गर्नका लागि बाटो खुलेको थियो । अस्टिनको नियुक्तीका पक्षमा शुक्रबार सिनेटमा ९३ मत प्राप्त भएको थियो भने विपक्षमा २ मत प्राप्त भएको थियो । दुईजना रिपब्लिकन सिनेटरहरुले उनको नियुक्तीको विपक्षमा मतदान गरेका थिए ।
त्यस्तै गत बुधबार राष्ट्रिय खुफिया एजेन्सीको प्रमुखमा एभ्रिल हेन्सलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले स्वीकार गरेको थियो ।

हेन्स सीआईएको पूर्व सहायक निर्देशक हुन् । उनले ओबामाको कार्यकालमा मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेकी थिइन् । उनको नियुक्ती स्वीकृत भएसँगै अमेरिकाको खुफियामा पहिलोपटक महिला नेतृत्व आएको छ ।
अमेरिकामा राष्ट्रिय खुफिया निर्देशक मन्त्रिस्तरको पद हो । जसले अमेरिकाका विभिन्न १७ वटा खुफिया एजेन्सीहरुको प्रमुखका रुपमा काम गर्छ । जसमा सीआईए, डीआईए, सीजीआई लगायत रहेका छन् ।
सिनेटमा एभ्रिलका नियुक्तीको पक्षमा ८४ र विपक्षमा १० मत खसेको थियो । रिपब्लिकन सिनेटर टम कटनले नियुक्तीबारे विरोध गर्दै आफ्नो प्रश्नको लिखित जवाफ मागेपछि गत बुधबार नै एभ्रिल नियुक्ती स्वीकृत हुनेमा आशंका देखिएको थियो । तर टिम कटनलाई लिखित जवाफ दिइएपछि उनले अवरोध फिर्ता लिएका थिए ।






