सपथग्रहणपछि बाइडेनको प्रतिबद्धता : ‘सबै अमेरिकनको राष्ट्रपति हुनेछु’
प्रकाशित मिति : माघ ७, २०७७ बुधबार
सपथग्रहणपछि विशेष सम्बोधन गर्दै अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले आफू सबै अमेरिकनहरुको राष्ट्रपति हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बाइडेनले आज राष्ट्रपतिका रुपमा सपथग्रहण गरेपछि विशेष सम्बोधन गरेका हुन् ।
बाइडेनले अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धता समेत जनाएका छन् । बाइडेनले सम्बोधनमा भने – ‘यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो।’
उनले भने – ‘अमेरिकाको धेरै चोटि धेरै परीक्षा भयो र यो चुनौतिहरूको साथ उभिएको छ। आजले हामी एक जना उम्मेदवारको जीत होइन प्रजातन्त्रको जीतमनाइरहेका छौं।’
बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति, कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति
बाइडेनले कोरोनाको महामारीमा ज्यान गुमाएकाहरुको श्रद्धाञ्जलीमा मौन धारण समेत गरेका थिए । महामारीबाट अमेरिकामा ४ लाख भन्दा धेरैको ज्यान गइसकेको छ ।
अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले र्औपचारिक रुपमा सपथग्रहण गरेका हुन् । त्यस्तै कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा सपथग्रहण गरेकी छिन् । ४ बर्ष लामो ट्रम्प युगको अन्त्य गर्दै बाइडेन अमेरिकी राष्ट्रपति भएका हुन् भने पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले इतिहास कायम गरेकी छिन् ।
जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिएका हुन् । बाइडेनले बाइबललाई साक्षी राखेर सपथ लिएका हुन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राखेका थिए ।
लाइभ अपडेट: अमेरिकी राष्ट्रपतिका बाइडेन र उपराष्ट्रपतिमा ह्यारिसबाट सपथग्रहण
सपथग्रहणमा जो बाइडेनले भने – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु ।त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’
यसैबीच उपराष्ट्रपतिका रुपमा पहिलो ट्वीट गर्दै कमला ह्यारिसले सेवा गर्न तयार रहेको बताएकी छिन् ।
Ready to serve.
— Vice President Kamala Harris (@VP) January 20, 2021






