लाइभ अपडेटः दिनभरको हिंशात्मक प्रदर्शनपछि कडा सुरक्षाबीच हाउसको बैठक पनि सुचारु


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

( बाँकी अपडेटका लागि यहाँ क्लीक गर्नुहोला । – सम्पादक)

 

9:05 PM(EST):पेलोसीबाट पनि हाउसको बैठक सुचारु

झण्डै साढे ७ घण्टाको अवरोधपछि हाउस स्पीकर न्यान्सी पेलासीले हाउसको बैठक सुचारु गरेकी छिन् ।

पेलोसीले भनिन् – ‘जसले हामीलाई हाम्रो जिम्मेवारीबाट विचलित बनाउने प्रयास गरे उनीहरू असफल भएका छन् । यसमा संलग्न भएकाहरूलाई न्याय प्रदान गरिनेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

8:50 PM(EST): ट्रम्पको फेसबुक पेज पनि २४ घण्टाका लागि लक

फेसबुकले डोनाल्ड ट्रम्पको फेसबुक पेज पनि २४ घण्टाका लागि लक गरिदिएको छ । ट्रम्पको पेजबाट फेसबुकको नीतिको उल्लंघन भएको भन्दै २४ घण्टाका लागि ट्रम्पले केही पोष्ट गर्न नसक्ने गरी लक गरिदिएको फेसबुकले जनाएको छ ।

8:05 PM(EST):संसदको  बैठक सुचारु

दिनभरको हिंशात्मक प्रदर्शनपछि कर्फयु र कडा सुरक्षाबीच संसदको  बैठक सुचारु भएको छ । उपराष्ट्रपति माइक पेन्सले विशेष सम्बोधन गरेका छन् । पेन्सले हिंशा खत्तम भएको र संसद सुरक्षित भइसकेको बताउँदै काम सुचारु गर्न भनेका छन् ।

पेन्सले भने – ‘हामीले आज हाम्रो संसदको रक्षा गर्यौं। यस ऐतिहासिक स्थानको रक्षा गर्न आफ्नो पोष्टमा उभिएका पुरुष र महिलाहरूप्रति हामी सधै आभारी हुनेछौं। हाम्रो संसदमा विनाशकारी गतिविधि गर्नेहरुले जितेनन् । हिंसाले कहिल्यै जित्दैन । स्वतन्त्रताले जित्छ । यो अझै पनि जनताको घर हो। हामीले संसद सुचारु गर्दै गर्दा विश्व फेरि हाम्रो लोकतन्त्रको सामर्थ्यको साक्षी हुनेछ ।’

पेन्सपछि सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेल र डेमोक्रेटिक नेता चक शुमरले सम्बोधन गरेका छन् । हिंशात्मक प्रदर्शनकारीहरु प्रजातन्त्रमा बाधा उत्पन्न गर्न असफल भएको रिपब्लिकन सिनेटर मिच म्याक्कोनेलले बताएका छन् । संसदले राष्ट्रपति चुनावका विजेतालाई प्रमाणिकरण गर्ने उनले बताएका छन् ।

7:45 PM(EST):उपराष्ट्रपति पेन्स सिनेटमा फर्किए

उपराष्ट्रपति माइक पेन्स सिनेटमा फर्किएका छन् । उपराष्ट्रपति माइक पेन्स सिनेटमा फर्किएका छन् । दिउसो अराजक भींड संसद भवनमा छिरेपछि स्थगित भएको संसद बैठकसँगै पेन्स सुरक्षित स्थलमा बसेका थिए । तर उनले क्यापिल हिल भने नछाडेको जनाइएको छ ।

7:26 PM(EST):ट्वीटरबाट ट्रम्पको एकाउन्ट १२ घण्टाका लागि लक

ट्वीटरले डोनाल्ड ट्रम्पको एकाउन्ट १२ घण्टाका लागि लक गरिदिएको छ । साथै ट्वीटरले उक्त एकाउन्ट स्थायी रुपमा नै खारेज गरिदिने चेतावनी समेत दिएको छ । ट्रम्पले ट्वीटरका नियम उल्लंघन गरेकाले अहिलेका लागि अस्थायी रुपमा लक गरिएको ट्वीटरले जनाएको छ । भविश्यमा नियमको उल्लंघन गरेर एकाउन्ट खारेज गर्ने ट्वीटरले चेतावनी दिएको हो ।

7:00 PM(EST):ट्वीटर र फेसबुक दुबैले हटाए समर्थकलाई सम्बोधन गरेको ट्रम्पको भिडियो

समर्थकलाई सम्बोधन गरेको डोनाल्ड ट्रम्पको भिडियो ट्वीटर र फेसबुक दुबैले हटाइदिएका छन् । ट्रम्पले दिउसो आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै घर फर्किन आप्व्हानका साथ भिडियो पोष्ट गरेका थिए । उक्त भिडियोमा आफूले प्रदर्शनकारीहरुलाई एकदमै माया गर्ने तर अब घर फर्किने बेला भएको बताएका थिए । ट्वीटरले ट्रम्पको अर्को ट्वीट पनि हटाएको छ । यसैबीच युट्युबले पनि ट्रम्पको भिडियो हटाइसकेको छ ।

6:51 PM(EST):संसदको संयुक्त बैठक आजै सुचारु हुने

इलेक्टोरल मतगणना गरेर जो बाइडेनको जीत औपचारिक रुपमा घोषणा गर्न संसदको बैठक आजै सुचारु हुने भएको छ । हाउस स्पीकर न्यान्सी पेलोसीले संसदको संयुक्त बैठक आजै सुचारु गर्ने निर्णय गरिएको बताइन् । संसदको बैठक सुचारु हुने सन्दर्भमा सांसदहरुलाई पत्राचार गरिएको छ । तर कति बजेदेखि सुचारु हुने भन्ने सन्दर्भमा केही बताइएको छैन ।

6:11 PM(EST):संसदभवनको भित्तामा चढ्दा ३० फिट तल खसेका व्यक्तिको अवस्था चिन्ताजनक

संसदभवनको भित्तामा चढ्दा ३० फिट तल खसेका व्यक्तिको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । २४ बर्षका ती पुरुष क्यापिटल हिल भवनको पश्चिमतिरको भागमा चढेका थिए । उनलाई तत्कालै अस्पताल लगिएको थियो ।

6:01 PM(EST): डिसीक्षेत्रमा कर्फयु सुरु

वासिंटन डिसी क्षेत्रमा मेयरले घोषणा गरेको कर्फयु सुरु भएको छ । बेलुका ६ बजेदेखि सुरु भएको कर्फयु आदेश विहिबार विहान ६ बजेसम्म जारी रहनेछ । कर्फयुका बाबजुत प्रदर्शनकारीहरु अझै संसद भवन क्षेत्र बाहिर रहेका छन् । संसदभवनभित्र र संसदभवनको खुड्किलाहरुबाट भने प्रदर्शनकारीलाई हटाइएको छ ।

5:56 PM(EST):  संसद भवनभित्र  गोली हानिएकी  महिलाको मृत्यु

संसद भवनभित्र छिर्दा छातीमा गोली हानिएकी प्रदर्शनकारी महिलाको मृत्यु भएको छ । गोली लागेर सख्त घाइते ती महिलालाई अस्पताल लगिएको थियो । उनको अस्पतालमा निधन भएको जनाइएको छ ।

प्रदर्शनका क्रममा घाइते ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । १३ जना पक्राउ परेका छन् भने सुरक्षाकर्मीहरुले २ बिष्फोटक सहित ५ हतियार नियन्त्रणमा लिएका छन् ।

 

5:35PM(EST): विध्वंसकारीहरु सिनेटको फ्लोरमा पुग्नु अगाडि नै इलेक्टोरल मतपत्रहरु सुरक्षित स्थलमा

विध्वंसकारीहरु सिनेटको फ्लोरमा पुग्नु अगाडि नै इलेक्टोरल मतपत्रहरु सुरक्षित स्थलमा लगिसकिएको जनाइएको छ । जसका कारण इलेक्टोरल मतपत्रहरुमा कुनै क्षति पुगेको छैन । सिनेटका कर्मचारीहरुले विध्वंसकारीहरु प्रवेश गर्नु अगाडि नै मतपत्रहरु सुरक्षित गरिसकेका थिए । कर्मचारीहरुले सुरक्षित नगरेकोभए मतपत्रहरु भींडले जलाउने र नष्ट गर्ने सम्भावना रहेको थियो ।

5:07PM(EST): संसद भवनभित्रबाट सबै प्रदर्शनकारीलाई निकालियो तर संयुक्त बैठक अझै अनिश्चित

१२ इलेक्टोलर मत प्रमाणिकरण गरेर स्थगित भएको संसदको संयुक्त बैठक कतिबेलादेखि सुचारु हुने भन्ने निश्चित छैन । तर संसद भवनभित्रबाट सबै प्रदर्शनकारीलाई बाहिर निकालिएको छ । अहिलेसम्म जम्मा २ वटा राज्यको मात्र इलेक्टोरल मत प्रमाणिकरण गरिएको छ । अलाबामा र अलास्काको मत प्रमाणिकरण गरेलगत्तै एरिजोनाको मत प्रमाणिकरण गर्ने क्रममा रिपब्लिकनहरुले असहमति जनाएका थिए ।

4:20PM(EST): ट्रम्पबाट भिडियो सन्देश

राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश सार्वजनिक गर्दै समर्थकहरुलाई घर फर्किन भनेका छन् ।

ट्रम्पले भनेका छन् – ‘मलाई तपाईको पीडा थाहा छ, मलाई तपाईको चोट थाहा छ। तर तपाईहरु अब घर जानुपर्छ ।’

ट्रम्पले उक्त सन्देशमा चुनाव आफूले जितेको बताउन भने छाडेनन् ।

4:05PM(EST): नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सम्बोधन

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले विशेष सम्बोधन गरेका छन् । बाइडेनले भनेका छन् – ‘हाम्रो प्रजातन्त्रमाथि अभूतपूर्व हमला भएको छ ।’

 

3:56PM(EST): राष्ट्रपति ट्रम्पबाट सेना परिचालन

अमेरिकी संसद भवन क्षेत्रमा स्थीति नियन्त्रणमा लिन सेना परिचालन गरिएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले नेशनल गार्ड लगायत अन्य सुरक्षा निकायहरुलाई निर्देशन दिएको ह्वाइट हाउस प्रेस सेक्रेटरीले जनाएकी छिन् । भर्जिनियाले स्थीति नियन्त्रणमा लिनका सघाउन राज्यका २ सय सुरक्षाकर्मीहरु पठाइरहेको जनाइएको छ । यसैबीच उपराष्ट्रपति माइक पेन्सले प्रदर्शनकारीहरुले संसदभवन क्षेत्र छाड्न आव्हान गरेका छन् ।

यसैबीच पेन्टागनका मुख्य प्रवक्ताले वासिंटन डिसीमा रहेको सबै नेशनल गार्ड परिचालन गरिएको बताएका छन् ।

3:39PM(EST):सिनेटतिरको स्थीति नियन्त्रणमा, भित्र छिरेका सबैलाई बाहिर निकालियो

संसद भवनमा सिनेटतिरको स्थीति नियन्त्रणमा लिइएको छ । भित्र छिरेका सबै प्रदर्शनकारीहरुलाई बाहिर निकालिएको छ । केही प्रदर्शनकारीहरु सिनेटको फ्लोरमा छिरेर मुख्य कुर्सीमा गएर समेत बसेका थिए । उनीहरु सबैलाई पश्चिम र पूर्वतिरको ढोकाबाट निकालिएको छ । सिनेटतिरको अवस्था शान्तिपूर्ण रहेको जनाइएको छ । प्रदर्शनकारीहरु हाउस स्पीकरको कुर्सीमा बसेका तस्वीर आएका छन् । हाउसतिरको अवस्था अझै स्पष्ट छैन ।

3:24PM(EST): सिनेटको मुख्य कुर्सीमा गएर बसे प्रदर्शनकारी, सांसदहरु अज्ञातस्थलमा सुरक्षित

संसद भवनभित्र छिरेका प्रदर्शनकारीहरु सिनेटको मुख्य कुर्सीमा गएर बसेको तस्वीर सार्वजनिक भएको छ ।

सिनेट र हाउसका सांसदहरुलाई भने सुरक्षित तरिकाले राखिएको जनाइएको छ । उनीहरुलाई राखिएको स्थलबारे सार्वजनिक गरिएको छैन ।

3:03PM(EST):संसदको फ्लोर खाली, उपराष्ट्रपति माइक पेन्सले संसद भवन छाडे

ट्रम्प समर्थक प्रदर्शनकारीहरुले संसद भवनको सुरक्षा घेरा तोडेपछि संसदको फ्लोर खाली गराइएको छ । उपराष्ट्रपति माइक पेन्सलाई पनि संसद भवनबाट बाहिर लगिएको छ । पेन्स संसदको संयुक्त सेसनका लागि संसद भवन गएका थिए ।

हाउसको च्याम्बरका अधिकारीहरुले सांसदहरुलाई कुर्सी मुनी लुक्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका थिए । यसैबीच रिपब्लिकन सांसद आदम किन्जिन्जरले कुको प्रयास भएको भन्दै ट्वीट गरेका छन् ।

 

2:45PM(EST): वासिंटन डिसीमा कर्फयु घोषणा

वासिंटन डिसीका मेयरले बेलुका ६ बजेदेखि लागु हुनेगरी कर्फयु आदेश घोषणा गरेका छन् । कर्फयु आदेश विहिबार विहान ६ बजेसम्मका लागि घोषणा गरिएको हो । ट्रम्पले उक्साएका प्रदर्शनकारीहरु संसद भवनमा छिरेपछि संसद बैठक अबरुद्ध भएको छ ।

2:38PM(EST):संसद प्रहरीबाट थप सुरक्षाबल माग

संसदभवन क्षेत्रको स्थीति तनावग्रस्त बनेपछि संसदभवनको क्षेत्रको सुरक्षामा खटिएको प्रहरीले थप सुरक्षाबल मागेको छ । प्रहरीले संघीय सुरक्षाबलको समेत माग गरेको जनाइएको छ । संसदभवनबाहिर कैयन शंकास्पद पोकाहरु भेटिएका छन् । डिसीको महानगरीय प्रहरी विभागले ससद प्रहरीको सहायताका लागि थप श्रोतहरु पठाएको जनाइएको छ ।

 

2:25PM(EST):सांसदहरुमा भागदौड, सिनेट र हाउसको बैठक अबरुद्ध

संसदभवनबाहिरको हिंशात्मक प्रदर्शनका कारण अचानक सिनेटको बैठक अवरुद्ध भएको छ । सिनेटर जेम्स ल्यांक्फोर्डले बोल्दाबोल्दै माथिल्लो च्याम्बरबाट कोही चिच्याएपछि सिनेटको बैठक अवरुद्ध भएको छ । त्यसपछि सांसदहरुबीच भागदौड भएको थियो ।

त्यस्तै हाउसको बैठक पनि अबरुद्ध भएको छ । संसदभवनको घेरा प्रदर्शनकारीले तोडेपछि हाउसको बैठक समेत अवरुद्ध भएको जनाइएको छ । भवनभित्र जोखिम भएपछि नजिकको अफिसमा बस्न र शान्त रहन भनिएको छ ।

 

2:11PM(EST):अमेरिकी संसद भवन लकडाउन

प्रदर्शनका कारण उत्पन्न तनावका कारण अमेरिकी संसद भवन क्षेत्र लकडाउन गरिएको छ । भवनबाहिर उपस्थीत भएका प्रदर्शनकारीहरु र सुरक्षाकर्मीहरु झडपका घटनाहरु भइरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको आव्हानमा प्रदर्शनकारीहरु वासिंटन डिसीमा भेला भएका हुन् । क्यापिटल हिलबाट कसैलाईपनि बाहिर निस्कन दिइएको छैन भने भित्र पस्न पनि दिइएको छैन ।

2:00PM(EST): चुनाव परिणामबिरुद्धको ट्रम्पको चुनौतीको रिपब्लिकन सिनेटर मिच म्याक्कोनेलको निन्दा

ट्रम्पको नेतृत्वमा भइरहेको चुनाव परिणामबिरुद्धको चुनौतीको रिपब्लिकन सिनेटर मिच म्याक्कोनेलले निन्दा गरेका छन् । सानातिना आरोपका आधारमा चुनावी परिणाम नै उल्टाएमा अमेरिकी लोकतन्त्र नै मृत्युको चक्रमा फस्ने उनले चेतावनी दिएका छन् ।

कसैले पनि आफैलाई राष्ट्रिय निर्वाचन आयोग घोषणा गर्न नसक्ने र मतदाता, राज्यहरु तथा अदालतहरु चुनावी परिणामबारे बोलिसकेको उनले बताए । यदि त्यसलाई हटाइएमा वा उल्टाइएमा अमेरिकाको गणतन्त्रलाई सधैका लागि हानी पुग्ने उनले बताए । सिनेटरहरुले बोल्ने क्रम जारी छ ।

1:48PM(EST): संसदका दुबै सदनमा अलगअलग छलफल जारी 

एरिजोनाको चुनावी परिणाम अस्वीकारबारे संसदका दुबै सदनमा छलफल चलिरहेको छ । सिनेटमा रिपब्लिकन सिनेटर मिच म्याक्कोनेल र डेमोक्रेटिक सिनेटर चक शुमरले बोलेका छन् । सिनेटको अध्यक्षता उपराष्ट्रपति माइक पेन्सले गरिरहेका छन् भने हाउसको अध्यक्षता स्पीकर न्यान्सी पेलोसीले गरिरहेकी छिन् ।

1:40PM(EST):बमको धम्कीपछि क्याफिटल हिलका दुई भवन खाली गराइयो

बमको धम्कीपछि सुरक्षाकर्मीले क्यापिटल हिलमा म्याडिसन भवन खाली गराएका छन् । ट्रम्पका समर्थकहरुले संसदबाहिर प्रदर्शन गरिरहेका छन् भने प्रहरीसँग झडप भइरहेका छन् । त्यस्तै सुरक्षाकर्मीले क्यानन हाउस अफिसको भवनपनि बमको धम्कीपछि खाली गराएका छन् ।

1:20PM(EST): संसदका दुबै सदनमा अलगअलग छलफल 

संसदका दुबै सेसनमा यो विषयमा अलगअलग छलफल सुरु भएको छ । यो छलफल झण्डै २ घण्टा चल्नेछ । सम्भवत एरिजोनाको चुनावी परिणामबारेको अस्वीकारलाई पारित गर्ने वा नगर्ने सन्दर्भमा मतदान पनि हुनसक्नेछ । त्यसपछिमात्र संसदको संयुक्त सेसन पुन: सुरु हुनेछ ।

1:15PM(EST) :संसदको संयुक्त सेसन स्थगित

अलाबामा र अलास्काको चुनावी परिणाम घोषणापछि एरिजोनाको परिणाम घोषणा गर्दा रिपब्लिकन सांसदहरुले अस्वीकार गरेका हुन् । चुनावी परिणाम अस्वीकारपछि संसदका दुबै सदनमा अलगअलग छलफलका लागि संसदको संयुक्त सेसन स्थगित भएको छ ।

1:05PM(EST) : संसदको संयुक्त सेसन सुरु

जो बाइडेनलाई राष्ट्रपति घोषणा गर्नेगरी इलेक्टोरल कलेज मत गणनका लागि संसदको संयुक्त बैठक सुरु भएको छ ।

उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा इलेक्टोरल मत गणना सुरु भएको हो । अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्ने र गणकहरु समक्ष पेश गर्ने तालिका छ । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।

यो प्रकृया संघीय कानुनले तोके अनुशार भइरहेको छ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स छन् भने न्यान्सी पेलोसी बायातिर छिन् । ४ जना गणकहरु क्लर्कको डेस्कमा छन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ ।

आज संसदबाट राष्ट्रपतिमा बाइडेनको औपचारिक जीत घोषणा हुँदै, रोक्न ट्रम्पको अन्तिम प्रयास

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com