२ हजार डलरको राहत चेकसहितको प्याकेज एकमतले पारित गर्न डेमोक्र्याट्सहरु तयार


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार डलरको राहत चेक पठाउनुपर्ने बताएपछि हाउस स्पीकर न्यान्सी पेलोसीले यसैसाता २ हजार डलरको राहत चेकसहितको प्याकेज पारित गर्न तयार रहेको बताएकी छिन् ।

राष्ट्रपतिको भनाईको जवाफ दिदै पेलोसीले भनेकी छिन् – ‘राहत चेकमा राष्ट्रपतिले कति पठाउन चाहेका हुन् भन्नेबारे बताउन रिपब्लिकनहरुले बारम्बार अस्वीकार गरे । अन्तत: राष्ट्रपति २ हजार डलरमा सहमत भएका छन् । डेमोक्र्याट्सहरु यसैसाता एकमतले यो प्याकेज संसदमा ल्याउन तयार छन् । यो गरिहालौं ।’

राष्ट्रपति  ट्रम्पले संसदबाट पारित राहत प्याकेजमा हस्ताक्षर नगरी खर्च विधयेकमा परिमार्जन नभएसम्म हस्ताक्षर नगर्ने संकेत गरेका छन् । उनले ट्वीटरमार्फत संसदलाई उपयुक्त बिल ल्याउन भनेका छन् । नत्र अर्को प्रशासनले राहत प्याकेज जारी गर्ने र त्ययो अर्को प्रशासन आफू समेत हुनसक्ने उनले बताएका छन् ।

उनले खर्च विधयेकका कतिपय कुराहरुमा आफू असन्तुष्ट भएको बताएका छन् । ट्रम्पले राहत चेक ६ सय डलर अत्यन्तै कम भएको र त्यसलाई बढाएर २ हजार बनाएर ल्याउन भनेका छन् । व्यक्तिका लागि २ हजार वा दम्पत्तिका लागि ४ हजारको राहत चेकको व्यवस्था गर्न संसदलाई भनेको र विधयेकबाट अनावश्यक कुराहरु हटाएर उपयुक्त विधयेक ल्याउन भनेका छन् ।

६ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर समेटिएको ८९२ बिलियन डलरको राहत प्याकेज अमेरिकी संसदको दुबै सदनबाट सोमबार मध्यरात अगाडि नै पारित भएको थियो । संसदले १ दशमलव ४ ट्रिलियन डलरको खर्च विधयेक पनि पारित गरेको हो ।

राहत प्याकेज र खर्च विधयेक सोमबार साँझ प्रतिनिधिसभाबाट र मध्यरात हुनु ठीक अगाडि सिनेटबाट पारित भएको थियो । सिनेटमा ९२ जनाले पक्षमा र ६ जना रिपब्लिकन सिनेटरहरुले विपक्षमा मतदान गरेका थिए ।

आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज  ५५९३ पृष्ठ लामो छ ।

कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।

पूर्ण पाठ पढ्न यहाँ क्लीक गर्नुहोला ।

राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।

त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ ।

राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।

२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।

ट्रेजरी सेक्रेटरी स्टेफन मन्चिनले  आगामी सातादेखि नै राहत चेक पठाउन सकिने बताएका छन् । हाउस र सिनेटमा आजै बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर र दोश्रो चरणको राहत चेक समेटिएको राहत प्याकेज पारित हुने अपेक्षा गरिएको छ ।

अमेरिकाको राहत प्याकेज र खर्च विधयेकमा नेपालको सहयोगका लागि १३ करोड डलर विनियोजन

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com