जनवरी ५ को जर्जियाको चुनावले निर्धारण गर्नसक्छ ११ मिलियन कागजपत्रविहिनको भविश्य


प्रकाशित मिति : पुस २, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लगिएला ? यो प्रश्न यतिखेर सबैको मनमा उब्जेको छ । तर यसको जवाफ सहज भने छैन ।

अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने योजना बनाएका छन् । बाइडेन अभियानका अधिकारीका अनुशार कागजपत्रविहिनलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने बिल संसदको तल्लो सदन प्रतिनिधिसभामा पहिले पेश गरिनेछ ।

तर यो बिल पारित हुनका लागि सिनेटमा डेमोक्र्याट्सको बहुमत हुन आवश्यक छ । सिनेटमा डेमोक्र्याट्सको बहुमत हुनका लागि आगामी जनवरी ५ मा जर्जियामा सिनेटरका लागि हुने चुनावमा डेमोक्र्याट्सले दुबै सिट जित्न जरुरी हुन्छ । प्रतिनिधिसभामा डेमोक्र्याट्सहरुको बहुमत आइसकेकाले प्रतिनिधिसभाबाट पारित गर्नमा भने समस्या देखिन्न ।

सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीले र ५० सिट रिपब्लिकन पार्टीले जीतेका छन् । जर्जिया दुबै सिट डेमोक्रेटिक पार्टीका उम्मेदबारले जीतेमा उपराष्ट्रपतिले गर्ने टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर जर्जियाको दुईवटै वा दुईवटामध्ये एउटा सिटमा मात्र रिपब्लिकनले जीतेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ । त्यसैले जर्जियाको चुनावले सिंगै अमेरिकाको इमिग्रेशन लगायतका कैयन परिदृश्यलाई परिवर्तन गर्नसक्ने देखिएको छ । सिनेटमा रिपब्लिकनको बहुमत कायम भएमा भने बाइडेनका कैयन योजनाहरु संसदबाट पारित हुनमा असहज मात्र होइन असम्भव नै हुनेछ ।

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने बाइडेनको योजनाले बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण गर्न प्रदान गरिएको डाका कार्यक्रमलाई पनि समेट्नेछ । डाका र टीपीएसमा रहेकालाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने यो बिलको मर्म हो ।

बिल पारित भएमा निश्चित समयभन्दा अगाडि अमेरिकामा रहेकाहरुलाई निश्चित मापदण्ड पूरा गरेपछि ग्रिनकार्डको बाटोमा लैजानसक्ने भएकाले तोकिएको समयभन्दा अगाडि आएका एसाइलम पेन्डिंग रहेकाहरुदेखि अन्य प्रकारका कागपत्रविहिनलाई पनि ग्रिनकार्डको बाटोमा जान बाटो खुल्नसक्नेछ । यद्यपी विलबारे पूरै विवरण भने सार्वजनिक भएको छैन ।

डाका कार्यक्रम तत्कालिन राष्ट्रपति बराक ओबामाले सुरु गरेका हुन् । त्यतीबेला जो बाइडेन उपराष्ट्रपति रहेका थिए । डाकाले झण्डै साढे ६ लाख बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गरेको छ । जसमा नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् । टीपीएसबाहक नेपालीहरु भने झण्डै ९ हजारको हाराहारीमा रहेका छन् ।

पदभार सम्हालेकै पहिलो दिन बाइडेनले ट्रम्पबाट जारी यात्रा प्रतिबन्धहरु खारेज गर्ने योजना बनाएका छन् । ट्रम्पले यात्रा प्रतिबन्ध लगाएका १३ देशहरुमा अधिकांश मुस्लिम बाहुल्य रहेका देशहरु छन् । सन् २०१७ मा कार्यभार सम्हाल्न बित्तिकै ट्रम्पले यात्रा प्रतिबन्धको घोषणा गरेका थिए ।

त्यस्तै ट्रम्पले कोरोनाको महामारीको कारण देखाउँदै आप्रवासीहरुलाई ग्रिनकार्डमा अमेरिका आउनमा समेत डिसेम्बरको अन्त्यसम्म रोक लगाएका छन् । यो रोक ट्रम्पले थप्नसक्ने सम्भावना पनि रहेको छ । तर बाइडेनले कार्यभार सम्हालेपछि यो रोकलाई खारेज गर्ने योजनामा छन् । रोक खारेज भएमा डिभी, रोजगार वा परिवारमा आधारित ग्रिनकार्डमा अमेरिका आउनमा समस्या हुनेछैन ।

ट्रम्पले कामदार भिषामा कडाई गर्ने कैयन मापदण्डहरु ल्याएका छन् । बाइडेनले ती मापदण्डहरु पनि खुकुलो पार्ने योजना बनाएका छन् । ट्रम्प प्रशासनले सन् २०२१ का लागि अमेरिका भित्राउने शरणार्थीको संख्या १५ हजारमा झारेकोमा बाइडेन १ लाख २५ हजार बनाउने योजना बनाएका छन् ।

मेक्सिको र अमेरिकाको सिमा क्षेत्रमा ट्रम्पले लगाइसकेको पर्खाल बाइडेनले भत्काउने छैनन् । तर आफ्नो कार्यकालमा थप एक इन्चपनि पर्खाल नलगाइने बाइडेनले बताएका छन् । सिमा क्षेत्रमा सुरक्षाका लागि आधुनिक मापदण्डहरु अपनाउने बाइडेनको योजना छ ।

सिमाक्षेत्रमा एसाइलम खोज्नेलाई मेक्सिको नै फिर्ता पठाउने नीति ट्रम्प प्रशासनले ल्याएको छ । बाइडेनले यो नीतिलाई खारेज गरी एसाइलममा गरिएको कडाई खुकुलो पार्ने योजना बनाएका छन् ।

डेमोक्र्याट्सहरुले ११ मिलियन आप्रवासीलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने मुद्दा लामो समयदेखि वकालत गर्दै आएको मुद्दा हो । बराक ओबामा राष्ट्रपति र जो बाइडेन उपराष्ट्रपति भएको बेलामा सन् २०१३ मा बृहत अध्यागमन सुधार सहितको यस्तो बिल पारित गराउने असफल प्रयास समेत भएको थियो । तर त्यतीबेला सिनेटमा डेमोक्र्याट्सको बहुमत रहेपनि हाउसमा भने रिपब्लिकनको बहुमत कायम भएकाले बिल पारित हुन सकेन ।

सन् २००९ देखि सन् २०११ सम्म दुबै सदनमा डेमोक्र्याट्सको बहुमत थियो भने राष्ट्रपति बराक ओबामा र उपराष्ट्रपति जो बाइडेन थिए । त्यतीबेला डेमोक्र्याट्सले आर्थिक अवस्था सुधारमा आफ्नो ध्यान केन्द्रीत गरेकाले यो बिललाई पहिलो प्राथमिकतामा राखेनन् ।

त्यसपछिको सन् २०११ देखि २०१३ सम्मको संसदमा सिनेटमा डेमोक्र्याट्सको र हाउसमा रिपब्लिकनको बहुमत कायम भयो । त्यतीबेला ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटो हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने बिलले निकै चर्चा पायो । तर राष्ट्रपति ओबामा भएपनि संसदका दुबै सदनमा एउटै पार्टीको बहुमत कायम नभएका कारण यो बिल पारित हुन सकेन ।

२०१३ देखि २०१५ सम्मको संसदमा पनि उही अवस्था कायम रह्यो । अर्थात् हाउसमा रिपब्लिकनको र सिनेटमा डेमोक्र्याट्सको बहुमत कायम भयो । त्यसपछिको २०१५ देखि २०१७ सम्मको संसद रिपब्लिकनको नियन्त्रणमा गयो । अर्थात् दुबै सदनमा रिपब्लिकनको बहुमत कायम भएकाले ओबामा कार्यकालको उत्तरार्धमा डेमोक्र्याट्सले संसदबाट अध्यागमनका सन्दर्भमा केही पारित गराउन सकेनन् ।

यसैबीचमा सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले । २०१७ देखि २०१९ सम्म संसदका दुबै सदनमा रिपब्लिकनको बहुमत कायम रह्यो । त्यसपछिको २०१९ देखि अहिलेको संसदमा पुन परिदृश्य बदलियो । अर्थात् सिनेटमा रिपब्लिकनको र हाउसमा डेमोक्र्याट्सको बहुमत कायम भयो ।

यसपटक हाउसमा डेमोक्र्याट्सको बहुमत कायम भएको छ । तर सिनेटमा के हुने भन्ने कुराको निर्धारण हुन अझै केही साता कुर्नुपर्छ । संसदका दुईवटा सदनमा दुईपार्टीको नियन्त्रण कायम रहेको अवस्थामा डेमोक्र्याट्सले दुईदलीय सहमति विना ल्याएका कुनै पनि बिलहरु पारित हुन सहज हुनेछैन ।

राष्ट्रपति बाइडेन भएकै अवस्थामा दुबै सदनमा उनीहरुको नियन्त्रण कायम भएमा के गर्नेछन्? त्यो भने हेर्न बाँकी छ । यद्यपी डाका र टीपीएसले समेटेकाहरुलाई देशनिकाला हुनबाट जोगाउन भने बाइडेनले कार्यकारी आदेशमार्फत सहजै सक्नेछन् ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com