न्युयोर्कमा गाडीको पछाडि बस्नेलाई पनि अनिवार्य सिटबेल्टको नियम लागु


प्रकाशित मिति : कार्तिक ३०, २०७७ आईतबार

न्युयोर्कमा सबैप्रकारका गाडीभित्र १६ बर्ष र त्यो भन्दामाथिका सबै यात्रुहरुले सिटबेल्ट अनिवार्य लगाउनुपर्ने नियम लागु भइसकेको छ । विगतमा न्युयोर्कमा चालक र चालकको छेउमा बस्नेलेमात्र सिटबेल्ट अनिवार्यरुपमा लगाउनुपर्ने नियम रहेको थियो ।

नयाँ नियम अनुशार पछाडि बस्नेले सिट बेल्ट नलगाएको पाइएमा ५० डलर जरिवाना हुनसक्नेछ भने चालकलाई समेत जरिवाना हुन सक्नेछ । ड्राइभरको छेउमा बस्नेले पनि सिटबेल्ट नलगाएमा ५० डलरसम्म जरिवाना हुने नियम रहेको छ ।

नयाँ नियमको उल्लंघन गरेमा चालकको छेउँमा बस्नेले सिटबेल्ट नलगाउँदा भोग्ने ट्राफिक कारवाही अनुशार नै कारवाही हुनेछ । नयाँ नियम अनुशार पछाडिको सिटमा बस्नेहरुले पनि अनिवार्य सिटबेल्ट लगाउनुपर्छ ।

अमेरिकाका कतिपय राज्यहरुमा अहिले पनि गाडीमा बस्ने हरेक यात्रुले सिटबेल्ट लगाउनुपर्ने नियम रहेको छ । यदि नलगाएको खण्डमा यात्रु वा चालकले जरिवानासहितको टिकट पाउने प्रावधान रहेको छ ।

कुनै समय न्युयोर्कमा अगाडि बस्नेले समेत सिटबेल्ट लगाउन अनिवार्य थिएन । तर सन् १९८४ मा न्युयोर्कले सिट बेल्ट अनिवार्य लगाउनुपर्ने नियम पारित गरेको थियो । त्यतीबेला अहिलेका गभर्नर एन्ड्रयु कुमोका पिता मारियो कुमोले नै यो नियममा हस्ताक्षर गरेका थिए । नयाँ नियममा एन्ड्रयु कुमोले हस्ताक्षर गरेका छन् ।

नयाँ नियमले अनावश्यक दुखद घटनाहरु हुनबाट बचाउने गभर्नर एन्ड्रयु कुमोले आशा व्यक्त गरेका छन् । सबै प्रकारका गाडीमा चढ्नेहरुले सिटबेल्ट अनिवार्य लगाउनुपर्ने नियमले कारहरु बाहेक अन्य गाडीहरुलाई समेत यो नियममा बाँध्नेछ ।

लिफ्ट, उबर लगायतका सेवामा पनि सिटबेल्ट अनिवार्य रहेको छ । अमेरिकाका ३० वटा राज्यमा सिटबेल्टको यस्तो नियम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com