बाइडेनको जीत स्वीकारेको ट्वीट लगत्तै ट्रम्पको अर्को ट्वीट -‘मैले केही स्वीकारेको छैन, हामीले नै जित्नेछौं’


प्रकाशित मिति : कार्तिक ३०, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेनको जीत स्वीकारेको ट्वीट लगत्तै डोनाल्ड ट्रम्पले अर्को अर्को ट्वीट गर्दै भनेका छन् – ‘धाँधलीयुक्त चुनाव । हामीले नै जित्नेछौं ।’

दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा पराजित डोनाल्ड ट्रम्पले केहीबेर अगाडि बाइडेनको जीत स्वीकारेका थिए । उनले ट्वीटरमार्फत घुमाउरो पारामा पहिलोपटक बाइडेनको जीत स्वीकारेका थिए । उनले चुनावमा धाँधली भएका कारण बाइडेनले जीतेको बताएका थिए ।

तर त्यसको केही मिनेटमै अर्को ट्वीट गर्दै उनले आफैले जित्ने बताए । बाइडेनले फेक मिडियाको नजरमा मात्र चुनाव जितेको र आफूले केही पनि स्वीकार नगरेको उनले बताए । उनले यात्रा लामो रहेको र चुनावमा धाँधली भएको दोहोराए । ट्रम्पका ट्वीटलाई ट्वीटरले लगातार फ्लाग गर्दै आएको छ ।

नोभेम्बर ३ को राष्ट्रपति चुनावपछि ट्रम्पले आफ्नो पराजय अस्वीकार गर्दै आएका थिए । उनले बारम्बार आफूले चुनाव जीतेको बताउँदै आएका थिए । ट्रम्पले कानुनी लडाई त जारी राखेका छन्, तर चुनावमा धाँधली भएको प्रमाण भने जुटाउन सकेका छैनन् । अहिलेसम्म उनको प्रयास असफल रहँदै आएको छ ।

गत शुक्रबारमा अमेरिकाका निर्वाचन अधिकारीहरुले चुनाव अमेरिकी इतिहासमा नै सबैभन्दा सरक्षित भएको बताएका थिए । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका उच्च अधिकारीहरुले नै संयुक्त वक्तब्यमार्फत चुनाव सुरक्षित भएको बताएपछि ट्रम्पलाई थप धक्का लागेको थियो ।

अमेरिकी राष्ट्रपति चुनावमा सबै राज्यको नतिजा घोषणा भइसकेको छ ।
नोभेम्बर ३ मा भएको चुनावपछि नोभेम्बर ७ मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको विजय घोषणा गरिएको थियो । पेन्सिलेभेनिया जितेपछि बाइडेनलाई राष्ट्रपति हुन आवश्यक इलेक्टोलर मत सुरक्षित भएको थियो ।

सबै राज्यको घोषणा भइसक्दा बाइडेनका पक्षमा ३०६ इलेक्टोरल कलेज मत सुरक्षित भएको छ भने ट्रम्पका पक्षमा २३२ इलेक्टोरल कलेज मत प्राप्त भएको छ । कुल पपुलर मत मध्ये बाइडेनले ५० दशमलव ८ प्रतिशत र ट्रम्पले ४७ दशमलव ४ प्रतिशत प्राप्त गरेका छन् ।

ट्रम्पले ७ करोड २७ लाख बढी मत प्राप्त गरेका छन् भने बाइडेनले ७ करोड ८० लाख बढी मत प्राप्त गरेका छन् । सन् २०१६ को चुनावमा ट्रम्पले जीतेका ५ वटा राज्यमा बाइडेनले जीतेका छन् । विसकन्सिन, मिसिगन, पेन्सिलभेनिया, जर्जिया र एरिजोनामा बाइडेनले जीतेका हुन् ।

सन् १९४८ यता एरिजोना जित्ने बाइडेन दोश्रो डेमोक्र्याट हुन् । त्यतिबेला ह्यारी टर्मयान ले चुनाव जीतेका थिए । त्यसपछि सन् १९९६ मा बिल क्लिन्टनले झिनो मतले एरिजोना जीतेका थिए ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका थिए । सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका थिए । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका थिए । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com