अंग बेचेर पैसा कमाउने भन्दै अमेरिकामा आमाले गरिन् दुई छोरीको हत्या
प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार
अमेरिकाको लस भेगास निवासी एकजना २६ बर्षकी महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छिन् । उनले कुनै फिल्ममा मृत व्यक्तिको अंग बेचेर पैसा कमाएको देखेको भन्दै मृत बालिकाहरुको अंगबाट पैसा कमाउन हत्या गरेको बयान दिएकी छिन् ।
२६ बर्षकी आमान्दा सार्प जेफर्सन नामकी महिलाले १ र २ बर्षका दुई छोरीको हत्या गरेकी हुन् । उनका प्रेमी जेकोन सिंगेल्टोन घरमा फर्कदा दुबै छोरीको हत्या गरेर उनले प्रेमीलाई उनीहरुका अंगहरु मँहगोमा बिक्रि हुनसक्ने बताएकी थिइन् ।
दुई छोरीहरु झुलनामा मृत भेटिएपछि प्रेमीले तत्काल प्रहरीलाई खबर गरेका थिए । उनीहरुको हत्या कसरी भयो भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ ।
सिंगेल्टोन र ती महिला सन् २०१८ देखि एकसाथ बस्दै आएका थिए । उनीहरुबीच कुनै समस्या नभएपनि केही समयदेखि ती महिलाले वैकल्पिक आध्यात्मिक संसारबारे कुरा गर्न थालेकी थिइन् ।
ती महिलाले कुनै लागुऔषध सेवन गरेको अस्वीकार गरेकी छिन् । तर उनीहरुको अपार्टमेन्टमा गाँजा भेटिएको प्रहरीले जनाएको छ । ती महिलालाई बिहिबार अदालतमा पेश गरिदैछ ।