३ मंसिर २०८३, बिहिबार| Thursday, November 19, 2026
इमिग्रेशन

पहिलो दिन नै बाइडेनले ११ मिलियन कागजत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने

अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने योजना बनाएका छन् । बाइडेन अभियानका अधिकारीका अनुशार कागजपत्रविहिनलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने बिल संसदको तल्लो सदन प्रतिनिधिसभामा पहिले पेश गरिनेछ ।

प्रतिनिधिसभामा डेमोक्र्याट्सहरुको बहुमत आउने उच्च सम्भावना रहेको छ । तर सिनेटमा भने डेमोक्र्याट्सको बहुमत आउने सम्भावना त्यती देखिन्न । सिनेटमा अहिलेसम्म दुबै पार्टीले बराबर ४८ ४८ सिटमा नियन्त्रण कायम गरेका छन् । बाँकी दुई सिटमा रिपब्लिकनको अग्रता रहेको छ भने दुई सिटमा जनवरीमा विशेष चुनाव हुने सम्भावना छ ।

सिनेटमा बहुमत कायम गर्न सकेमा पनि थोरै संख्यामा भएपनि रिपब्लिकन सिनेटरहरुमा बिलमा पक्षमा ल्याउन सकेमा भने बिल पारित हुने सम्भावना पनि रहनेछ । बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण गर्न प्रदान गरिएको डाका कार्यक्रमलाई पनि बिलले समेट्नेछ । डाका र टीपीएसमा रहेकालाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिलको मर्म हो ।

डाका कार्यक्रम तत्कालिन राष्ट्रपति बराक ओबामाले सुरु गरेका हुन् । त्यतीबेला जो बाइडेन उपराष्ट्रपति रहेका थिए । डाकाले झण्डै साढे ६ लाख बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गरेको छ । जसमा नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् । टीपीएसबाहक नेपालीहरु भने झण्डै ९ हजारको हाराहारीमा रहेका छन् ।

ट्रम्प प्रशासनले डाका कार्यक्रम अन्त्य गर्न चाहेपनि सर्बोच्च अदालतले प्रकृया नपुगेको भन्दै तत्काल अन्त्य हुनबाट रोकेको थियो । बाइडेन प्रशासनले टीपीएसले समेटेका झण्डै ४ लाखलाई पनि सम्बोधन गर्ने योजना बनाएको छ ।

पदभार सम्हालेकै पहिलो दिन बाइडेनले ट्रम्पबाट जारी यात्रा प्रतिबन्धहरु खारेज गर्ने योजना बनाएका छन् । ट्रम्पले यात्रा प्रतिबन्ध लगाएका १३ देशहरुमा अधिकांश मुस्लिम बाहुल्य रहेका देशहरु छन् । सन् २०१७ मा कार्यभार सम्हाल्न बित्तिकै ट्रम्पले यात्रा प्रतिबन्धको घोषणा गरेका थिए ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

त्यस्तै ट्रम्पले कोरोनाको महामारीको कारण देखाउँदै आप्रवासीहरुलाई ग्रिनकार्डमा अमेरिका आउनमा समेत डिसेम्बरको अन्त्यसम्म रोक लगाएका छन् । यो रोक ट्रम्पले थप्नसक्ने सम्भावना पनि रहेको छ । तर बाइडेनले कार्यभार सम्हालेपछि यो रोकलाई खारेज गर्ने योजनामा छन् । रोक खारेज भएमा डिभी, रोजगार वा परिवारमा आधारित ग्रिनकार्डमा अमेरिका आउनमा समस्या हुनेछैन ।

ट्रम्पले कामदार भिषामा कडाई गर्ने कैयन मापदण्डहरु ल्याएका छन् । बाइडेनले ती मापदण्डहरु पनि खुकुलो पार्ने योजना बनाएका छन् । ट्रम्प प्रशासनले सन् २०२१ का लागि अमेरिका भित्राउने शरणार्थीको संख्या १५ हजारमा झारेकोमा बाइडेन १ लाख २५ हजार बनाउने योजना बनाएका छन् ।

मेक्सिको र अमेरिकाको सिमा क्षेत्रमा ट्रम्पले लगाइसकेको पर्खाल बाइडेनले भत्काउने छैनन् । तर आफ्नो कार्यकालमा थप एक इन्चपनि पर्खाल नलगाइने बाइडेनले बताएका छन् । सिमा क्षेत्रमा सुरक्षाका लागि आधुनिक मापदण्डहरु अपनाउने बाइडेनको योजना छ ।

सिमाक्षेत्रमा एसाइलम खोज्नेलाई मेक्सिको नै फिर्ता पठाउने नीति ट्रम्प प्रशासनले ल्याएको छ । बाइडेनले यो नीतिलाई खारेज गरी एसाइलममा गरिएको कडाई खुकुलो पार्ने योजना बनाएका छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →