जनवरी २० सम्म ट्रम्प नै राष्ट्रपति, के गरे विगतका राष्ट्रपतिले यो अवधिमा?


प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार

अमेरिकाको संविधान अनुशार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन् । त्यतीबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन् । जो बाइडेनले चुनाव जितेपनि डोनाल्ड ट्रम्प जनवरी २० सम्म अमेरिकाको राष्ट्रपति रहनेछन् ।

जनवरी २० सम्म राष्ट्रपतिको शक्तिमा कुनै कटौती हुँदैन । त्यसैले उनले राष्ट्रपतिको हैसियतमा विगतमा जे जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।

राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आदेश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ती गर्न पाउने अधिकारसम्म राख्छन् । यो अवधिमा ट्रम्पलाई खर्च विधेयक अगाडि बढाउनेदेखि संघीय अदालतहरुमा नियुक्ती गर्न पाउने सम्मको अधिकार रहेको छ । उनले यो अवधिमा विभिन्न व्यक्तिलाई क्षमादान दिनसक्ने जनाइएको छ ।

उनले आफ्ना परिवारका सदस्यहरुदेखि उनका साथमा काम गरेका अन्य व्यक्तिसम्मलाई क्षमादान दिनसक्छन् । उनले आफ्ना प्रमुख रणनीतिकार स्टीभ ब्याननदेखि व्यक्तिगत वकिल रुडी जुलियानीसम्मलाई क्षमादान दिनसक्ने अनुमान गरिएको छ । ट्रम्पले आफ्ना रेकर्डहरु नष्ट गर्ने, कैयन अधिकारीहरुलाई निस्काशन गर्ने र संघीय कर्मचारीतन्त्रलाई कमजोर पार्न प्रयास गर्ने कतिपय विज्ञहरुको अनुमान छ ।

यस्तो अवधिमा विगतका कैयन राष्ट्रपतिहरुले कैयन व्यक्तिलाई क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई हमला समेत गराएका थिए । उनले कैयनलाई क्षमादान समेत दिए ।

यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अपराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

बिल क्लीन्टनले आफ्ना भाई र एउटा राहत संकलन अभियानमा खटिएकी महिलाका पति लगायत १४० भन्दा धेरैलाई क्षमादान दिएका थिए । रिचर्ड निक्सनले राजिनामा दिएपछि राष्ट्रपति बनेका जेराल्ड फोर्डले निक्सनलाई ह्वाइटहाउसमा रहँदा गरेका सबै अपराधका लागि क्षमादान दिए ।

यस्तो क्षमादान अहिलेसम्म अपराधमा नमुछिएका व्यक्तिलाई समेत दिन सकिन्छ । क्षमादानपछि क्षमादानको अवधि अगाडिसम्मका अपराधका लागि उनीहरुलाई भविश्यमा समेत छुट प्राप्त हुन्छ । विगतका अपराधका कारण भविश्यमा सजाय भोग्न नपरोस् भनेर समेत क्षमादान दिइन्छ ।

क्षमादान दिन पाउने अमेरिकी राष्ट्रपति तजविज अधिकार हो । अधिकांश राष्ट्रपतिले अर्को व्यक्ति नयाँ राष्ट्रपति निर्वाचित भइसकेपछि आफू जनवरी २० सम्म ह्वाइटहाउसमा रहँदासम्म यो अधिकारको प्रयोग गर्दै आएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com