मतगणना जारी, प्रतिनिधिसभामा डेमोक्र्याट्स बहुमतको नजिक


प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा डेमोक्र्याट्सहरु बहुमतको नजिक पुगेका छन् । अहिलेसम्मको मत परिणाम अनुशार २१४ सिटमा डेमोक्रेटिक सांसदहरु विजयी भएका छन् भने १९६ सिटमा रिपब्लिकन सांसदहरु विजयी भएका छन् ।

प्रतिनिधिसभामा बहुमत कायम गर्नका लागि २१८ सिटमा विजय हासिल गर्न आवश्यक हुन्छ । डेमोक्र्याट्सहरु उक्त बहुमत प्राप्त गर्ने निश्चित रहेको छ । प्रतिनिधिसभामा स्पीकरका लागि ८० बर्षकी न्यान्सी पेलोसीले उम्मेदवारी दिने भएकी छिन् ।

यसपटकको निर्वाचतमा प्रतिनिधिसभाका सबै सिटहरुमा चुनाव भएको हो । अमेरिकामा प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल २ बर्षको हुन्छ । प्रतिनिधिसभामा ४३५ सदस्यसंख्या रहेको छ । अब २५ सिटको नतिजा आउन बाँकी रहेको छ ।

सिनेटका १ सय सिटमध्ये ३५ सिटमा पनि यसपटक निर्वाचन भएको हो । अहिलेसम्मको नतिजा अनुशार सिनेटमा रिपब्लिकन र डेमोक्र्याट्स दुबैले बराबर सिटमा जीत हासिल गरेका छन् । रिपब्लिकनहरुले १८ सिटमा विजय हासिल गरेर ४८ बनाएका छन् भने डेमोक्र्याट्सले १३ सिटमा विजय हासिल गरेर ४८ बनाएका छन् ।

अब ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमध्ये जर्जियाका २ सिनेट सिटमा आगामी जनवरीमा विशेष चुनाव हुने देखिएको छ । अलास्का र नर्थ क्यारोलिनामा रिपब्लिकन सिनेटर उम्मेदबार अगाडि देखिएका छन् । अहिलेकै अग्रता अनुशार चुनाव जीतेमा सिनेटमा रिपब्लिकनले ५१ र डेमोक्र्याट्सले ४९ सिट ल्याउने देखिएको छ ।

सिनेट नजिते गतिरोध

संसदका दुबै सदनमा बहुमत कायम गर्न नसकेको खण्डमा जो बाइडेनले राष्ट्रपति चुनाव जितेपनि सुरुदेखि नै गतिरोध कायम रहने देखिएको छ । अहिलेसम्मको अवस्था अनुशार सिनेटमा रिपब्लिकनको बहुमत कायम हुने सम्भावना रहेको छ ।

हाउसमा डेमोक्र्याटस्को बहुमत रहेपनि सिनेटमा रिपब्लिकनको बहुमत कायम रहेको खण्डमा डेमोक्र्याट्स समर्थित बिलहरु पारित हुनमा सहज हुनेछैन । डाका र टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा लैजाने बिलहरुदेखि कोरोनाको राहत प्याकेजसम्म पारित हुनमा सहज हुनेछैन ।

बाइडेनले डोनाल्ड ट्रम्पले जारी गरेका केही कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन् । र बाइडेनले नयाँ कार्यकारी आदेशहरु जारी गर्न सक्नेछन् । तर ट्रम्पले जारी गरेका आदेशहरु उल्टाउँदा अदालतको बाटोमा गएको खण्डमा सर्बोच्च अदालतमा रिपब्लिकनहरुले नियुक्त गरेका न्यायाधिसहरुको बाहुल्यता रहेको छ ।

सर्वोच्च अदालतका ९ न्यायाधिसमध्ये ६ जना न्यायाधिसहरु रिपब्लिकनले नियुक्त गरेका रुढीवादी न्यायाधिसहरु रहेका छन् भने ३ जना न्यायाधिसहरु डेमोक्र्याट्सले नियुक्त गरेका प्रगतिशिल न्यायाधिसहरु रहेका छन् । कतिपय विषय सर्वोच्च अदालतमा पुग्दा बाइडेन प्रशासनको विपक्षमा निर्णयहरु आउनसक्ने सम्भावना उच्च रहेको छ ।

टीपीएस र डाकामा हुनेहरुले यति बेला बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा केही राहत प्राप्त हुने आशा गरेका छन् । बाइडेनले उनीहरुको डाका र टीपीएसको अवधि लम्बाउन सक्छन् । तर दुबै सदनमा पकड कायम नभएसम्म उनीहरुलाई ग्रिनकार्डको बाटोमा लैजान सहज छैन ।

सिनेटमा रिपब्लिकनको बहुमत कायम भएमा अदालतमा सुधार लगाएका डेमोक्र्याट्सका कैयन एजेण्डा त मृत प्राय नै हुनेछन् । डेमोक्र्याट्सहरु बन्दुक हिंशा, जलवायु परिवर्तन, समलिंगीहरुको अधिकार, मतदानको अधिकार, जातीय विभेद लगायतका कैयन विषयहरुलाई सम्बोधन गर्न इच्छुक देखिएका छन् । तर दुबै सदनमा पकड कायम नगर्दासम्म यी कुनै पनि विषय अगाडि बढाउन सहज हुनेछैन ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com