हाउसमा डेमोक्र्याट्सकै बहुमत आए न्यान्सी पेलोसी नै स्पीकरमा उठ्ने


प्रकाशित मिति : कार्तिक ९, २०७७ आईतबार

नोभेम्बर ३ मा हुने चुनावबाट अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा डेमोक्र्याट्सकै बहुमत आएमा आफू स्पीकरमा उठ्ने न्यान्सी पेलोसीले जानकारी दिएकी छिन् । उनले हाउसमा डेमोक्र्याट्सको बहुमत भएमा अर्को कार्यकालका लागि अगाडि बढ्ने बताएकी हुन् । साथै उनले सिनेटमा पनि यसपटक चुनावबाट डेमोक्र्याट्सको बहुमत आउनैपर्ने बताएकी छिन् ।

क्यालिफोर्नियाकी डेमोक्रेटिक सांसद पेलोसीले सन् २००७ मा अमेरिकी इतिहासको पहिलो महिला स्पीकर बनेर इतिहास कायम गरेकी थिइन् । उनी सन् २०११ सम्म हाउसको स्पीकर बनेकी थिइन् । तर त्यसपछि हाउसमा रिपब्लिकनले नियन्त्रण कायम गरेपछि उनी स्पीकरबाट हटेकी थिइन् । सन् २०१८ को चुनावबाट हाउसमा डेमोक्र्याट्सले पुन नियन्त्रण कायम गरेका थिए । त्यसपछि सन् २०१९ मा पेलोसी स्पीकर बनिन् ।

पेलोसीले अहिले राहत प्याकेजबारे ह्वाइटसँगको वार्ताको नेतृत्व गरिरहेकी छिन् । चुनाव अगाडि नै राहत प्याकेज पारित हुने सम्भावना निकै कम भएपनि उनले कहिलेपनि आशा नत्याग्ने बताएकी छिन् । कोरोना परीक्षणबारेको प्रस्तावित भाषामा अझै पनि टुंगो लाग्न सकेको छैन ।

अगस्तपछि कोरोनाको राहत प्याकेजबारे विभिन्न चरणमा छलफल भएपनि यो विषय अझै टुंगो लाग्न सकेको छैन । काम गुमाएकाहरुले अतिरिक्त साप्ताहिक ६ सय जुलाईको अन्त्यसम्म प्राप्त गरेभने त्यसपछिका ५ हप्ता ट्रम्पको कार्यकारी आदेशबाट साप्ताहिक ३ सय प्राप्त गरे । तर त्यसपछि भने कुनै राहत प्राप्त हुन सकेको छैन ।

दोश्रो चरणको राहत चेक प्रदान गर्ने विषयमा सबै पक्षहरु सहमत छन् । तर बेरोजगारी विमाको अतिरिक्त रकम लगायतका अन्य विषयमा मतभेद भएका कारण तीनमहिनादेखिको गाँठो फुक्न सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com