न्युयोर्कमा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्धको कार्यान्वयन आजदेखि सुरु


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

न्युयोर्कमा राज्यब्यापी रुपमा आगामी आजदेखि स्टोरहरु, रेष्टुरेण्ट र अन्य व्यापार व्यवशायमा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्धको कार्यान्वयन सुरु भएको छ । मार्च १ देखि सुरु गर्न लागिएको यो नियम अदालतमा परेको मुद्दाका कारण कार्यान्वयनमा ढिलाई भएको थियो ।

लङ आइल्याण्डको प्लास्टिक कम्पनी पोलीपार्क इन्ड्रस्टीले अदालतमा मुद्दा दायर गरेको थियो । तर अदालतले गत महिना प्रतिबन्ध कार्यान्वयनका लागि बाटो खोलिदिएको थियो । नियम उल्लंघन गर्ने ब्यापारीहरुलाई पहिलोपटक चेतावनी दिइने, दोश्रोपटक २५० डलर जरिवाना र तेश्रोपटक ५ सय डलर जरिवानाको टिकट दिइने भएको छ ।

आजदेखि किनमेल गर्न जानेहरुले सामान राख्नका लागि आफ्नो झोला लिएर जानुपर्छ । कतिपय स्टोरहरुले प्लास्टिकको झोलाको साटो कागजको झोला अफर गर्न त सक्नेछन् तर त्यसका लागि शुल्क तिर्नुपर्नेछ । न्युयोर्कमा हरेक बर्ष १० बिलियन प्लास्टिक झोलाहरु प्रयोग हुँदै आएको तथ्यांक छ । प्लास्टिकको प्रयोग कम गर्न यो नियम ल्याइएको हो ।

कागजको झोला अफर गर्ने स्टोरहरुले ५ सेन्ट शुल्क लिने जनाइएको छ । यो शुल्कको २ सेन्ट स्थानीय सरकारमा जानेछ भने ३ सेन्ट वातावरण संरक्षण कोषमा जम्मा हुने जनाइएको छ ।

कतिपय स्टोरले कागजको झोला समेत नदिने भएकाले ग्राहकले आफैले झोला लिएर जानुपर्ने सुझाव दिइएको छ । तर मासुहरु पोको पार्न, फोहोर राख्न वा अन्य त्यस्तै प्रयोजनका लागि भने प्लास्टिकको प्रयोग हुनसक्नेछ ।

यो नियमबाट ग्रोसरी स्टोरहरुदेखि अन्य खुद्रा स्टोरहरु पनि प्रभावित भएका छन् । न्युयोर्क सिटीको सेनिटेशन डिपार्टमेन्टले पुन प्रयोग गर्न मिल्ने झोलाहरु निशुल्क वितरण  गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com