चुनाव अगाडि राहत प्याकेज पारित गर्न ह्वाइहाउससँग सहमतिको डेडलाइन मंगलबार


प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार

चुनाव अगाडि राहत प्याकेज पारित गर्न ह्वाइहाउससँग सहमतिको डेडलाइन मंगलबारसम्म रहेको हाउस स्पीकर न्यान्सी पेलोसीले बताएकी छिन् । १२ सय डलरको दोश्रो चरणको राहत चेक र काम गुमाएकाहरुलाई साप्ताहिक रकम दिने लगायतका सुविधा समेटिएको प्याकेजमा सहमतिका लागि मंगलबारसम्म प्रयास गर्ने उनले बताइन् ।

ह्वाइटहाउसका तर्फबाट स्टेभन मन्चिनले यसबारे छलफल गरिरहेका छन् । तर मन्चिनसँग अझै पनि कैयन विषयमा मतभेदहरु रहेको पेलोसीले बताएकी छिन् । अमेरिकी चुनाव आउन दुईसातामात्र बाँकी रहँदा अमेरिकनहरुले चुनाव अगाडि नै राहत पाउने वा नपाउने कुरा मंगलबार निर्धारण हुनेछ ।

डेमोक्र्याट्हरु २ दशमलव २ ट्रिलियनको राहत प्याकेजमा सहमत भएका छन् तर रिपब्लिकनहरु १ दशमलव ८ ट्रिलियनभन्दा अगाडि बढ्न तयार छैनन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले १ दशमलव ८ ट्रिलियनभन्दा ठूलो राहत पारित गर्न आव्हान गरेपनि रिपब्लिकनहरुले त्यसलाई अस्वीकार गरेका छन् ।

शनिबारपनि पेलोसी र मन्चिनबीच ७५ मिनेट कुराकानी भएको थियो । उनीहरुबीच सोमबारपनि कुराकानी गर्ने सहमति भएको छ । मंगलबारको डेडलाइनको ठ्याक्कै दुईसाता पछाडि भने अमेरिकामा राष्ट्रपतिको चुनाव हुनेछ । पेलोसीले राष्ट्रपति ट्रम्पसँग भने कुरा नगरेको झण्डै एकबर्ष भइसकेको छ ।

महिनौंदेखि कुनै पनि राहत प्याकेज पारित हुन नसक्दा अमेरिकामा गरिबी बढ्दै गएको छ । कोरोना महामारीका कारण काम गुमाएका कतिपयले त साप्ताहिक ५ डलरभन्दा पनि कम रकममात्र प्राप्त गरिरहेका छन् ।

सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले पेलोसी र मन्चिनबीच सहमति भएमा आफूहरुले त्यसलाई स्वीकार्ने बताएका छन् । तर यसैबीच सिनेटले भने पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको राहत प्याकेजमा मतदान गर्ने तयारी समेत गरिरहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com