आईसीयू बेड नपाउँदा संक्रमितको मृत्यु
प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

रुपन्देहीको बुटवलमा आईसीयू बेड नपाउँदा फेरी एक संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका नवलपरासीका ७७ वर्षीय वृद्धको २ दिन देखि आईसीयू बेड नपाएपछि मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका ती वृद्धलाई सोही दिनदेखि नै आइसियूमा राख्नु पर्ने देखियो । तर, बेड अभावका कारण प्रादेशिक अस्पतालको फिवर क्लिनिक सेन्टरमा राखिएको थियो । उनी मुटुका रोगी समेत थिए ।
पछिल्लो समय कोरोना संक्रमित बिरामीको संख्या बढ्दै जाँदा अस्पतालमा सीमित संख्यामा उपलब्ध सघन उपचार कक्ष, शैया र भेन्टिलेटरले बिरामीको चाप थेग्न नसक्ने अवस्था देखिएको चिकित्सकहरूको भनाई छ । कोरोना विशष अस्पतालमा रहेका १६ वटा आइसियू बेड खाली छैनन् भने अन्य साधारण बेडमा २५ जना विरामी रहेका अस्पतालले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
आईसीयू पाउनै मुस्किल, अस्पताल चहार्दा–चहार्दै जान्छ संक्रमितको ज्यान