२ महिनाभित्रै दोश्रोपटक कोरोना संक्रमित महिलाको मृत्यु
प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

नेदरल्याण्डमा ८९ बर्षकी एकजना महिलाको दोश्रो पटक कोरोना संक्रमणबाट मृत्यु भएको छ । दोश्रोपटक कोरोना संक्रमण भएर मृत्यु भएको यो नै पहिलो घटना हो ।
क्यान्सरपीडित ती महिलालाई यो बर्षको सुरुमा कोरोना संक्रमण भएको थियो । उनलाई ज्वरो आउनुका साथै खोकी समेत लागेपछि अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । त्यसको ५ दिनपछि उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
त्यसको ५९ दिनपछि उनलाई पुन ज्वरो आउनुका साथै खोकी लागेको थियो । त्यतीबेला उनलाई दोश्रोपटक कोरोना संक्रमण पुष्टी भएको थियो । झण्डै दुईमहिनाको बीचमा दुईपटक कोरोना संक्रमण पुष्टी भएकी उनको २ सातापछि निधन भएको थियो ।
किमोथेरापी दिएको २ दिनपछि उनलाई दोश्रोपटक कोरोना संक्रमण पुष्टी भएको थियो । दुईपटक उनको एन्टीबडी परीक्षण गर्दा दुईपटक नै नेगेटिभ देखिएको थियो । क्यान्सरका कारण उनको प्रतिरक्षा प्रणाली विकाश हुन नसकेको बताइएको छ ।
दोश्रोपटक कोरोना संक्रमण भएको आठौं दिनमा उनको अवस्था निकै खराब भएको थियो । त्यसपछि उनलाई बचाउन नसकिएको जनाइएको छ ।
एकपटक कोरोना संक्रमण भएका व्यक्तिलाई पुन संक्रमण भएका अन्य घटनाहरु बाहिर आएका छन् । तर पुन संक्रमण भएर मृत्यु भएको घटना भने यो नै सम्भवत पहिलो हो । अहिलेसम्म कम्तीमा पनि ५ जनालाई पुनसंक्रमण भएको छ ।