राहत प्याकेजमा तुरुन्त मतदान गर्न ह्वाइटहाउसका तर्फबाट संसदलाई आव्हान गर्दै पत्राचार


प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार

राहत प्याकेजमा तुरुन्त मतदान गर्न ह्वाइटहाउसका तर्फबाट संसदलाई आव्हान गर्दै पत्राचार गरिएको छ । ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोजले आइतबार संसदलाई पत्राचार गर्दै पीपीपी सहितको राहत प्याकेजमा तुरुन्त मतदान गर्न भनेका छन् ।

ह्वाइटहाउसले अफर गरेको १ दशमलव ८ ट्रिलियनको राहत प्याकेजमा डेमोक्रेटिक हाउस स्पीकर न्यान्सी पेलोसी र सिनेटका रिपब्लिकन सांसदहरु असहमत भएको अवस्थामा यो पत्राचार गरिएको हो । ट्रम्पले राहत प्याकेजबारेको वार्ता अगाडि नबढ्ने बताएलगत्तै पुरानो अडान उल्टाउँदै १ दशमलव ८ ट्रिलियनको राहत प्याकेज अफर गरेका थिए ।

पेलोसीले कैयन प्राथमिकतामा आफूहरुको असहमति रहेको बताएकी छिन् । साथै कैयन प्रावधानहरुमा ट्रम्प प्रशासनबाट भाषाको प्रतिक्षा गरिरहेको समेत उनले बताएकी छिन् ।

शनिबार ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र ह्वाइटहाउसका चिफ अफ स्टाफ मार्क मेडोजसँगको कन्फ्रेन्समा रिपब्लिकन सांसदहरु १ दशमलव ८ ट्रिलियनको प्याकेज अफर गरेकोमा आक्रोशित भएका थिए । राज्य र स्थानीय निकायहरुलाई रकम दिने सन्दर्भमा उनीहरु असहमत भएका थिए भने समग्र बजेटमा समेत असहमति देखिएको थियो ।

राहत प्याकेजबारेको अन्यौल जारी रहेकै बेला शुक्रबार ह्वाइटहाउसले १ दशमलव ८ ट्रिलियनको राहत प्याकेज अफर गरेको हो । चुनाव अगाडि नै यसबारे सहमति कायम गर्ने प्रयास भइरहँदा ह्वाइटहाउसको नयाँ अफर आएको थियो ।

ट्रम्प प्रशासनले यसअगाडि १ दशमलव ६ ट्रिलियनको प्याकेज प्रस्ताव गरेकोमा त्यसमा थोरै बृद्धि गरिएको हो । तर हाउसका डेमोक्र्याट्सले पारित गरेको २ दशमलव २ ट्रिलियनभन्दा यो कम रहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताकारहरुलाई राम्रो प्याकेजमा सहमति गर्न प्रोत्साहन गरेका छन् । हालै ट्रम्पले चुनाव अगाडि प्याकेजबारेको वार्ता अगाडि नबढाउन निर्देशन दिएपछि अन्यौल छाएको थियो । तर पछि ट्रम्पले आफू राहतको पक्षमा रहेको बताएपछि वार्ता जारी छ ।

आफू रिपब्लिकन वा डेमोक्र्याट्सले अफर गरेको राहत प्याकेजभन्दा ठूलो प्याकेजका पक्षमा रहेको ट्रम्पले बताएका छन् । यद्यपी ह्वाइटहाउसले प्रस्ताव गरेको नयाँ प्याकेजभने डेमोक्र्याट्सले पछिल्लो पटक प्रस्ताव गरेको प्याकेजभन्दा ४ सय बिलियन कम रहेको छ ।

डेमोक्र्याट्सहरु सेप्टेम्बरदेखि लागु हुनेगरी जनवरी सम्मका लागि काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय दिनुपर्ने पक्षमा रहेका छन् । तर ह्वाइटहाउस भने साप्ताहिक ४ सय डलरका पक्षमा रहेको छ । अन्य केही विषयमा पनि मतभेद रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com