बहसबारे विवाद : ‘भर्चुअल हुँदैन’ – ट्रम्प, ‘सार्न मिल्दैन’ – बाइडेन


प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार

अमेरिकाका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच हुने तय भएको आगामी बहस नै अन्यौलमा परेको छ । ट्रम्पले आफूले भर्चुअल बहसमा भाग नलिने बताइसकेका छन् भने बहसको मिति सार्ने ट्रम्प पक्षको प्रस्ताव बाइडेन पक्षले अस्वीकार गरेको छ ।

कम्प्युटर अगाडि बसेर आयोजकले जतिबेला काट्न मनलाग्यो त्यतीबेला काट्ने बहसमा आफू सहभागी नहुने ट्रम्पले घोषणा गरेका छन् । ट्रम्प पक्षले बहसहरु एकसाता पछाडि सार्न सुझाव दिएपनि बाइडेन पक्षले यस्तो सुझाव सिधै अस्वीकार गरेको छ ।

आगामी राष्ट्रपति बहस अक्टोबर १५ मा फ्लोरिडामा तय भएको छ । त्यसपछि अन्तिम बहस अक्टोबर २२ मा टेनेसीमा तय भएको छ । राष्ट्रपतीय बहस आयोगले मायामीमा हुने बहस टाउन हलजस्तो हुने र सहभागीहरुले आआफ्नो स्थानबाट सहभागिता जनाउने बताएलगत्तै ट्रम्पले यस्तो बहसमा सहभागी भएर समय बर्बाद नगर्ने बताएका थिए ।

राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएकाले सहभागीहरुको स्वास्थ्य र सुरक्षाका लागि भर्चुअल बहस गर्ने आयोजकले बताएका थिए । बाइडेन पक्षले भने भचुअल बहसका लागि पनि सहमति जनाएका थिए । अक्टोबर १५ र २२ को बहस अक्टोबर २२ र २९ मा सार्नेबारे छलफल भइरहेको छ । तर बाइडेनभने सार्ने कुरामा सहमत छैनन् ।

ट्रम्पलाई अक्टोबर २ मा कोरोना संक्रमण भएपछि तीनरात अस्पताल बसेका थिए । अक्टोबर १५ मा त्यसको १४ दिनसमेत पूरा हुँदैन । ह्वाइटहाउसमा ट्रम्प निकटका झण्डै ३ दर्जनमा भाइरस संक्रमण भइसकेको जनाइएको छ ।

उम्मेदवारहरुबीच फरक फरक ठाउँबाट बहसमा भाग लिने प्रचलन नयाँ भने होइन । सन् १९६० को चर्चित बहसमा जोन अफ केनेडी र रिचर्ड निक्सनले फरकफरक ठाउँबाट भाग लिएका थिए । केनेडी न्युयोर्कमा थिए भने निक्सन लस एन्जलसमा थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com