तीनरातको अस्पताल बसाईपछि ट्रम्प डिस्चार्ज, ह्वाइट हाउस फिर्ता


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

कोरोना संक्रमण पुष्टी भएपछि तीनरात वाल्टर रिड मेडिकल सेन्टरको बसाईपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन् । तर ह्वाइटहाउसका चिकित्सक सिन कोन्लेले  ट्रम्प अझै जोखिममुक्त नरहेको बताएका छन् । तर उनको स्वास्थ्य स्थीति हेर्दा ह्वाइटहाउस फर्कन अप्ठ्यारो नरहेको  बताएका छन् ।

राष्ट्रपति ट्रम्प ह्वाइटहाउसमा २४ सै घण्टा चिकित्सकहरुको घेराबन्दीमा रहनेछन् ।

सोमबार राष्ट्रपतिको मुटुको चाल प्रतिमिनेट ६८ रहेको थियो भने रगतमा अक्सिजनको मात्रा ९७ प्रतिशत रहेको थियो । रगतमा अक्सिजनको मात्रा ९५ देखि १०० प्रतिशतसम्म सामान्य मानिन्छ । तर अस्पतालमा भर्ना भइसकेपछि भने ९५ भन्दा तल झरेपछि अक्सिजन दिनुपरेको थियो ।

तीनरात अस्पतालमा विताइसकेका ट्रम्पलाई सुरुमा ज्वरो आएको थियो । तर अहिले भने ज्वरो कम गर्ने औषधी नदिइएको जनाइएको छ । स्वासप्रस्वासमा कुनै समस्या नरहेको जनाइएको छ । तर सोमबार साँझ अस्पतालबाट डिस्चार्ज हुनु अगाडि एन्टीभाइरल रेम्डिसिभियरको चौथो डोज दिइने भएको छ ।

ट्रम्पले ह्वाइटहाउसमा विश्वकै उत्कृष्ट मेडिकल केयर पाउने ह्वाइटहाउसका चिकित्सक कोन्लेले बताए । राष्ट्रपति ट्रम्पले आज बेलुका साढे ६ बजे डिस्चार्ज हुने जनाइएको छ ।

ट्रम्पले आफै ट्वीट गर्दै आफू अस्पतालबाट साढे ६ बजे डिस्चार्ज हुन लागेको जानकारी दिएका हुन् । उनले आफूले एकदमै राम्रो अनुभव गरिरहेको बताउँदै कोभिडबाट नडराउन भनेका छन् ।

यसैबीच प्रथम महिला मेलानिया ट्रम्पले पनि आफूले निको अनुभव गरेको भन्दै ट्वीट गरेकी छिन् । उनले सबैको प्राथना र समर्थनका लागि धन्यवाद दिदै घरमै आराम गर्ने बताएकी छिन् ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरीलाई पनि कोरोना संक्रमण

ह्वाइट हाउसका प्रेस सेक्रेटरी केली म्याकेननीलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सोमबार विहान आफूलाई संक्रमण पुष्टी भएको ट्वीटरमार्फत जानकारी दिएकी छिन् । उनले आफूलाई कुनै लक्षण भने नदेखिएको बताएकी छिन् ।

ह्वाइटहाउसमा यतिवेला कोरोनाको ताण्डव चलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उनका निकटस्थ कम्तीमा १२ जनालाई कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com