कोरोना संक्रमित ३५ मिलियन नाघेको तथ्यांक, विश्व स्वास्थ्य संगठन भन्छ: ७६० मिलियन नाघे


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

विश्वमा ३५ मिलियनलाई कोरोना संक्रमण भइसकेको पुष्टी भइसकेको छ । तर विश्व स्वास्थ्य संगठनले भने विश्वमा ७६० मिलियन संक्रमित भइसकेको अनुमान गरेको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले सोमबार बोल्दै विश्वको १० प्रतिशत जनसंख्या कोरोना संक्रमण भइसकेको बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनका आपतकालिन विभागका प्रमुख डाक्टर माइकल रायनले आफूहरुको अहिलेको सबैभन्दा उत्तम अनुमानले विश्वको १० प्रतिशत जनसंख्या कोरोना संक्रमित भइसकेको देखाएको बताएका छन् । विश्वमा अहिले झण्डै ७ दशमलव ६ बिलियन जनसंख्या रहेको छ जसको १० प्रतिशत झण्डै ७६० मिलियन हुन्छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालै १० लाख नाघिसकेको छ । मृत्यु हुनेहरुको संख्या अमेरिकामा सबैभन्दा बढी २ लाख नाघिसकेको छ । मृतक संख्यामा दोश्रोमा ब्राजिल र तेश्रोमा भारत रहेको छ ।

विश्व स्वास्थ्य संगठनका डाक्टर रायनले विश्वको जनसंख्याको ठूलो हिस्सा जोखिममा रहेको बताएका छन् । साथै उनले विश्व अप्ठ्यारो अवस्थातिर अगाडि बढिरहेको चेतावनी दिएका छन् । युरोप, दक्षिणपूर्वी एसिया लगायतका क्षेत्रमा मृतकको संख्या बढेको उनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com