Follow @khasokhasmag

ट्रम्पको स्वास्थ्यलाभको कामना गर्दै ओबामा : ‘सबै मानिस हौं, पार्टीले फरक पर्दैन’


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

obama

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र पत्नी मिशेल ओबामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका छन् । ओबामाले भनेका छन् – ‘राष्ट्रपति, पहिलो महिला र देशभर कोरोनाभाइरसबाट प्रभावित सबैले आवश्यक हेरचाह पाइरहेका छन् र छिटो निको हुने मार्गमा छन् भन्ने हामीले आशा गरिरहेका छौं ।’

ओबामाले भनेका छन् – ‘हामी अहिले एक ठूलो राजनीतिक लडाईको बीचमा छौं, र त्यहाँ धेरै मतभेदहरु छन् । हामी यो याद राखौं कि हामी सबै अमेरिकी हौं। हामी सबै मानिस हौं। र हामी सबै जना स्वस्थ भएको चाहान्छौं, जुनसुकै पार्टीको भएपनि केही फरक पार्दैन।’

यसअगाडि राष्ट्रपति उम्मेदवार जो बाइडेनले पनि स्वास्थ्लाभको कामना गरेका थिए । उनले भनेका थिए – ‘हामी राष्ट्रपति ट्रम्प र पहिलो महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हामी राष्ट्रपति र उनको परिवारको स्वास्थ्य र सुरक्षाको लागि प्रार्थना जारी राख्नेछौं।’

बिहिबार मध्यराती कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार विहानदेखि ज्वरो आएपछि केही दिनका लागि राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएको छ ।
ह्वाइट हाउसले ट्रम्पलाई अस्पतालमा भर्ना गर्ने कदम सावधानीका लागि लिइएको तर आपतकालिन रुपमा स्वास्थ्यमा कुनै समस्या आएका कारण नभएको ह्वाइट हाउसले स्पष्ट पारेको छ । ट्रम्प बिरामी भएपनि कार्यवाहकको जिम्मेबारी उपराष्ट्रपति माइक पेन्सलाई नदिइने भएको छ । ट्रम्प नै इन्चार्ज रहने भएका छन् ।

शुक्रबारदेखि ज्वरो आएपनि त्यसलाई सामान्य लक्षणका रुपमा मात्र लिइएको छ । ट्रम्पका चिकित्सकले ट्रम्पले थकित अनुभव गरेको बताएपनि उच्च आत्मबल रहेको बताएका छन् । ट्रम्पले जिंक, भिटामिन डी, फेमोटिडिन, निद्रा लाग्ने मेलाटोनिन र दैनिक एस्पीरिनको औषधी लिइरहेका छन् ।

प्रथम महिला मेलानिया ट्रम्पलाई भने ज्वरोको साथमा हल्का खोकीपनि लागिरहेको जनाइएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउन झण्डै एकमहिना बाँकी रहँदा ट्रम्प दम्पत्तिमा कोरोना संक्रमण देखिएको हो ।

केहीदिन अगाडिको बहसमा सहभागी अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । ट्रम्पलाई कोरोना संक्रमण भएपछि बाइडेनको पनि परीक्षण गरिएको थियो ।

बाइडेनले आफ्नो र श्रीमती जिल बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बाइडेनको आफ्नो नतिजा नेगेटिभ आएको जानकारी दिदै मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र हात धुन सुझाव दिएका छन् ।

ट्रम्पका १४ बर्षका छोरा, छोरी र ज्वाईलाई भने कोरोना संक्रमण देखिएको छैन । उनीहरुको परीक्षणको नतिजा नेगेटिभ देखिएको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com