ट्रम्पको मृत्युको कामना गर्दै ट्वीट गर्नेको एकाउन्ट खारेज गर्ने ट्वीटरको चेतावनी


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

बिहिबार मध्यराती कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार विहानदेखि ज्वरो आएपछि केही दिनका लागि राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएको छ । यो अवधिमा कतिपयले ट्वीटर लगायतका सामाजिक सञ्जालको ट्रम्पको मृत्युको कामना गरेका छन् । तर सार्वजनिका रुपमा त्यस्तो कामना गर्नेहरुको एकाउन्ट खारेज गर्ने ट्वीटरले चेतावनी दिएको छ ।

ट्वीटरमा खुलेआम ट्रम्पको मृत्युको कामना गर्नेहरुको एकाउन्ट खारेज गरिने ट्वीटरले स्पष्ट पारिसकेको छ । कसैको मृत्युको कामना गर्नु गत अप्रिलदेखि लागु भएको दुव्र्यवहारपूर्ण गतिविधिमा पर्ने ट्वीटरले जनाएको छ । कसैको मृत्युको कामना गर्नु, चाहना राख्नु वा इच्छा व्यक्त गरेर ट्वीट गर्नु ट्वीटर प्रयोगको नीति विपरित हुने ट्वीटरको नीतिमा उल्लेख छ ।

ट्वीटरले यो नीति कसरी कार्यान्वयन गर्छ, त्यो भने हेर्न बाँकी छ । मृत्युको कामना सहितको कसैको ट्वीट भाइरल भएको खण्डमा त्यस्तो एकाउन्टलाई कारवाही गर्ने सम्भावना बढी रहेको छ । यसबारे फेसबुकको भने फरक नीति रहेको छ । फेसबुकले पब्लिक फिगर र नीजि व्यक्तिका सन्दर्भमा फरक फरक नीति अपनाउने स्पष्ट पारेको छ । फेसबुकले भने ट्रम्पलाई नै ट्याग गरेर गरिएका मृत्युका कामना बाहेक अन्य पोष्टलाई कारवाही नगर्ने संकेत दिएको छ ।

हिलारी फर अमेरिकाकी पूर्व प्रवक्ता जारा रहिमले ट्रम्पको मृत्युको कामना गर्दै ट्वीट गरेपछि उक्त ट्वीट डिलिट गरिएको छ भने जारा रहिमको एकाउन्ट नै प्राइभेट भएको छ ।

यसैबीच ह्वाइट हाउसले ट्रम्पलाई अस्पतालमा भर्ना गर्ने कदम सावधानीका लागि लिइएको तर आपतकालिन रुपमा स्वास्थ्यमा कुनै समस्या आएका कारण नभएको ह्वाइट हाउसले स्पष्ट पारेको छ । ट्रम्प बिरामी भएपनि कार्यवाहकको जिम्मेबारी उपराष्ट्रपति माइक पेन्सलाई नदिइने भएको छ । ट्रम्प नै इन्चार्ज रहने भएका छन् ।

शुक्रबारदेखि ज्वरो आएपनि त्यसलाई सामान्य लक्षणका रुपमा मात्र लिइएको छ । ट्रम्पका चिकित्सकले ट्रम्पले थकित अनुभव गरेको बताएपनि उच्च आत्मबल रहेको बताएका छन् । ट्रम्पले जिंक, भिटामिन डी, फेमोटिडिन, निद्रा लाग्ने मेलाटोनिन र दैनिक एस्पीरिनको औषधी लिइरहेका छन् ।

प्रथम महिला मेलानिया ट्रम्पलाई भने ज्वरोको साथमा हल्का खोकीपनि लागिरहेको जनाइएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउन झण्डै एकमहिना बाँकी रहँदा ट्रम्प दम्पत्तिमा कोरोना संक्रमण देखिएको हो ।

केहीदिन अगाडिको बहसमा सहभागी अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । ट्रम्पलाई कोरोना संक्रमण भएपछि बाइडेनको पनि परीक्षण गरिएको थियो ।

बाइडेनले आफ्नो र श्रीमती जिल बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बाइडेनको आफ्नो नतिजा नेगेटिभ आएको जानकारी दिदै मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र हात धुन सुझाव दिएका छन् ।

ट्रम्प र बाइडेनबीचको बहसका क्रममा ट्रम्पले मास्क लगाउने लगायतका मापदण्ड पालना गर्नमा गम्भिरता नदेखाएको विषय आएको थियो । त्यतिबेला ट्रम्पले आफूले आवश्यक परेको बेलामा मास्क लगाउने गरेको भन्दै खल्तीबाट मास्क झिकेर देखाएका थिए । साथै २ सय मिटर पर बस्दा समेत मास्क लगाउने गरेको भन्दै ट्रम्पले बाइडेनको मजाक उडाएका थिए ।

ट्रम्पका १४ बर्षका छोरा, छोरी र ज्वाईलाई भने कोरोना संक्रमण देखिएको छैन । उनीहरुको परीक्षणको नतिजा नेगेटिभ देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com