केहीदिनका लागि ट्रम्प वाल्टर रिड अस्पताल भर्ना


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

बिहिबार मध्यराती कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार विहानदेखि ज्वरो आएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुशार ट्रम्पलाई केहीदिनका लागि राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना भएका छन् ।

अस्पतालमा भर्ना गर्ने कदम सावधानीका लागि लिइएको तर आपतकालिन रुपमा स्वास्थ्यमा कुनै समस्या आएका कारण नभएको ह्वाइट हाउसले स्पष्ट पारेको छ । ट्रम्प बिरामी भएपनि कार्यवाहकको जिम्मेबारी उपराष्ट्रपति माइक पेन्सलाई नदिइने भएको छ । ट्रम्प नै इन्चार्ज रहने भएका छन् । उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ ।

शुक्रबारदेखि ज्वरो आएपनि त्यसलाई सामान्य लक्षणका रुपमा मात्र लिइएको छ । ट्रम्पका चिकित्सकले ट्रम्पले थकित अनुभव गरेको बताएपनि उच्च आत्मबल रहेको बताएका छन् । ट्रम्पले जिंक, भिटामिन डी, फेमोटिडिन, निद्रा लाग्ने मेलाटोनिन र दैनिक एस्पीरिनको औषधी लिइरहेका छन् ।

प्रथम महिला मेलानिया ट्रम्पलाई भने ज्वरोको साथमा हल्का खोकीपनि लागिरहेको जनाइएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउन झण्डै एकमहिना बाँकी रहँदा ट्रम्प दम्पत्तिमा कोरोना संक्रमण देखिएको हो ।

केहीदिन अगाडिको बहसमा सहभागी अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । ट्रम्पलाई कोरोना संक्रमण भएपछि बाइडेनको पनि परीक्षण गरिएको थियो ।

बाइडेनले आफ्नो र श्रीमती जिल बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बाइडेनको आफ्नो नतिजा नेगेटिभ आएको जानकारी दिदै मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र हात धुन सुझाव दिएका छन् ।

ट्रम्प र बाइडेनबीचको बहसका क्रममा ट्रम्पले मास्क लगाउने लगायतका मापदण्ड पालना गर्नमा गम्भिरता नदेखाएको विषय आएको थियो । त्यतिबेला ट्रम्पले आफूले आवश्यक परेको बेलामा मास्क लगाउने गरेको भन्दै खल्तीबाट मास्क झिकेर देखाएका थिए । साथै २ सय मिटर पर बस्दा समेत मास्क लगाउने गरेको भन्दै ट्रम्पले बाइडेनको मजाक उडाएका थिए ।

ट्रम्पका १४ बर्षका छोरा, छोरी र ज्वाईलाई भने कोरोना संक्रमण देखिएको छैन । उनीहरुको परीक्षणको नतिजा नेगेटेभि देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com