दोश्रो चरणको १२ सय डलर र साप्ताहिक ६ सय समेटेको डेमोक्रेटिक बिल हाउसबाट पारित


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

capitol hill

डेमोक्रेटिक सांसदहरुले ल्याएको २ दशमलव २ ट्रिलियन डलरको नयाँ बिल अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । बिलमा अमेरिकामा दोश्रो चरणको १२ सय डलरको राहत चेक र काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ६ सय डलर समेटिएको छ ।

यसअगाडि डेमोक्रेटिक सांसदहरुले हाउसबाट ३ दशमलव ४ ट्रिलियन डलरको बिल पारित गरेका थिए । तर रिपब्लिकनहरु यति ठूलो बिलको पक्षमा नभएपछि उक्त बिल सिनेटमा अगाडि बढ्न सकेको थिएन ।

अहिले त्यसमा १ ट्रिलियन डलरभन्दा बढी रकम कम गरेर बिल पारित गरिएको छ ।तर यो बिलमा पनि रिपब्लिकनको सहमति नभएकाले सिनेटमा अगाडि बढ्न मुस्किल रहेको छ । आफूहरु १ ट्रिलियन घटेकाले रिपब्लिकनहरु १ ट्रिलियन बढेर उक्त बिलमा सहमति जनाउन डेमोक्रेटिक सांसदहरुले आग्रह गरेका छन् ।

यो बिलमा सेप्टेम्बर ६ देखि नै लागु हुनेगरी आगामी जनवरी ३१ सम्म काम गुमाएकाहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलर दिने प्रावधान समेटिएको छ । साथै १२ सय डलरको दोश्रो चरणको राहत चेक दिने र आश्रीतहरुलाई अतिरिक्त ५ सय डलर दिने पनि बिलमा समेटिएको छ ।

स्थानीय र राज्य सरकारहरुलाई अतिरिक्त सहायताका लागि ४३६ बिलियन डलर दिने र पेचेक प्रोटेक्सन प्रोग्राम पनि चालु गर्ने विषय विलमा समावेश छ । विद्यालयहरुलाई सहायताका लागि २२५ बिलियन डलर र कोरोनाको परीक्षण र ट्रेसिंगका लागि ७५ बिलियन डलर प्रदान गर्ने विषय बिलमा छ ।

प्रतिनिधिसभामा बिलमा पक्षमा २१४ र विपक्षमा २०७ मत खसेको छ । ११ जना डेमोक्रेटिक सांसदहरुले बिलको विपक्षमा मतदान गरेका छन् । यो बिल सिनेटमा जाने र पारित हुने सम्भावना भने निकै कम रहेको छ ।

ह्वाइट हाउस र हाउस स्पीकर न्यान्सी पेलोसीबीच सहमतिका वार्ताहरु भइरहँदा यो बिल पारित भएको हो । ह्वाइट हाउस भने काम गुमाएकाहरुलाई सेप्टेम्बर १२ देखि लागु हुनेगरी साप्ताहिक ४ सय डलर दिने व्यवस्था सहितको १ दशमलव ६ ट्रिलियन डलरको राहत प्याकेजको पक्षमा छ ।

हाउस स्पीकर न्यान्सी पेलोसी र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनबीच बिहिबार पनि सहमति कायम हुन भने सकेन । चुनाव नजिकिदै गर्दा सांसदहरु आआफ्ना क्षेत्रमा फर्केर चुनावमा लाग्नुपर्ने भएकाले राहत प्याकेज छिटो पारित हुन नसके चुनाव अगाडि पारित हुननसक्ने परिदृश्य समेत रहेको छ ।

पेलोसीले पूर्ण सहमति कायम नभएपनि केही विषयमा भने सहमति कायम भएको बताएकी छिन् । तर सबै विषयमा सहमति नभएसम्म यसलाई सहमति भन्न नसकिने उनको भनाई छ । विहिबार पनि मन्चिन र पेलोसीबीच ५० मिनेट कुराकानी भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत प्रदान गरिएको साप्ताहिक ३ सय डलरको अवधि समाप्त भइसकेको छ । ह्वाइट हाउस त्यसको एक सातापछि सेप्टेम्बर १२ बाट साप्ताहिक ४ सय डलर दिनुपर्ने पक्षमा रहेको छ । तर डेमोक्र्याट्सहरु सेप्टेम्बर ६ पछि लागु हुनेगरी साप्ताहिक ६ सयको व्यवस्था हुनुपर्ने र यस्तो व्यवस्था जनवरी ३१ सम्म लागु हुनुपर्ने पक्षमा छन् ।

दोश्रो चरणको १२ सय डलरको राहत चेक उपलब्ध गराउने पक्षमा भने सबै पक्षहरु सहमत रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com