क्यालिफोर्नियामा नयाँ पेट्रोलियम गाडीको किनबेचमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी
प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार

क्यालिफोर्नियामा पेट्रोलियम पदार्थबाट चल्ने नयाँ गाडीको किनबेचमा प्रतिबन्ध लगाउन त्यहाँका गभर्नर गेभिन न्युसोमले कार्यकारी आदेश जारी गरेका छन् । उनको कार्यकारी आदेश अनुशार सन् २०३५ बाट क्यालिफोर्नियामा क्यालिफोर्नियामा पेट्रोलियम पदार्थबाट चल्ने नयाँ गाडीको किनबेचमा प्रतिबन्ध लाग्नेछ ।
बुधबार गभर्नरले कार्यकारी आदेश जारी गरेर पेट्रोलियम पदार्थबाट चल्ने गाडीका लागि १५ बर्षको डेडलाइन सेट गरेका छन् । कार्यकारी आदेश अनुशार सन् २०३५ पछि पनि पुराना पेट्रोलियम गाडीको किनबेच गर्न भने पाइनेछ । साथै आफूसँग भएका पेट्रोलियम गाडी प्रयोग गर्नसमेत पाइनेछ । तर नयाँ किनबेच भने गर्न पाइने छैन ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडीले वातावरण प्रदुषण गर्ने भएकाले प्रदुषण कम गर्न यस्तो आदेश जारी गरिएको हो । यो आदेशले विद्युतीय गाडीको किनबेचका लागि प्रोत्साहन गरेको छ । अमेरिकामा विद्युतीय गाडीको आकर्षण विस्तारै बढ्दै गइरहेको छ ।
सन् २०१८ मा क्यालिफोर्नियाका गभर्नरले प्रदुषण कमगर्नका लागि सन् २०२५ सम्ममा २ सय हाइड्रोजिन स्टेशन र साढे दुईलाख विद्युतीय कारहरु चार्जरको लक्ष्य बनाएका थिए । गभर्नरको कार्यकारी आदेश जलवायु संकटलाई सम्बोधन गर्ने महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।
उनको यो कदमको वातावरणविदहरुले स्वागत गरेका छन् । टेस्लाको विद्युतीय कार अमेरिकामा निकै लोकप्रिय बन्दै गएको छ । गतबर्षमात्र टेस्लाको मोडल थ्री कार डेढलाख भन्दा धेरै बिक्रि भएको थियो ।