फ्लोरिडामा गोहीले आक्रमण गरेपछि आँखा घोंचेर बच्न सफल भए ६१ बर्षका जोन्सन


प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

alligator

गत आइतबार फ्लोरिडा निवासी ६१ बर्षका मार्क जोन्सन नहरको किनारमा हिडिरहेका थिए । अचानक पानीबाट एउटा गोही आएर उनलाई झम्टियो ।

उनलाई खुट्टामा टोकेर गोहीले नहरमा पानीभित्र तान्न खोज्दै थियो । गोहीले उनको दाहिने खुट्टामा टोकिसकेको थियो । गोहीले शक्तिशाली दाह्राले अठ्याएर उनलाई तान्न थाल्यो ।

उनलाई के गर्ने के गर्ने अलमल भयो । तर उनले तुरुन्तै निर्णय लिए । र, आफ्ना हातका औंलाले गोहीका आँखामा प्रहार गरे । गोही अत्यन्तै आक्रमक र छिटो आएको थियो । तर उनले औंलाले आँखा घोचिदिएपछि हच्कियो ।

त्यसपछि उनी फुत्किन सफल भए । जालहारीले उक्त गोहीलाई नहरबाट हटाएका छन् । उक्त गोही ८ फुट लामो र झण्डै २५० पाउण्ड तौलको थियो ।

जोन्सनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उनको खुट्टामा ६० वटाभन्दा बढी टाँका लगाइएको छ । उनको सेन्ट लुसी मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

आफूले उक्त गोही त्यती ठूलो होला भनेर कल्पना नगरेको जोन्सनले बताए । आफ्नो ध्यान साइजमा भन्दा पनि कसरी बच्ने भन्नेतिरै गएको उनको भनाई छ । तर पछि गोही त्यती ठूलो भएको थाहा पाउँदा आफू भाग्यले बाँचेको बताउँछन् उनी ।

यदि आफ्नो स्थानमा बच्चा वा कुनै घरपालुवा जनावर भएको भए बच्न सम्भव नहुने उनले बताए । त्यसैले गोहीहरु कति खतरनाक हुन्छन् भन्ने सबैले बुझ्न जरुरी भएको उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com