नेपालका लागि बेलायती पूर्व राजदूतको शव सनाखत, बेलायती र अमेरिकी दूतावासबाट शोक व्यक्त
प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

नेपालका लागि बेलायती पूर्व राजदूत रिचार्ड मोरिसको शव औपचारिक रुपमै सनाखत भएपछि नेपालमा रहेका अमेरिकी दूतावास र बेलायती दूतावासले शोक व्यक्त गरेका छन् । अमेरिकी दूतावास काठमाडौंले पूर्व राजदूत रिचार्ड मोरिस र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीको तस्वीर पोष्ट गर्दै नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको असामयिक निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेको छ ।
दूतावासले भनेको छ – ‘वहाँ राजदूत बेरीका असल मित्र र नेपालीहरूका शुभचिन्तक हुनुहुन्थ्यो। यो दुखद् घडीमा हामी स्वर्गीय मोरिसप्रति श्रद्धान्जली र वहाँको परिवारजनमा समवेदना व्यक्त गर्दछौं।’
With great sadness I say goodbye to my friend Richard Morris, former UK Ambassador to Nepal. I’m grateful that our lives intersected. He made me a better diplomat and person. My sincere condolences to Alison & his family. We will miss you, Richard. pic.twitter.com/IzyXe3qr0B
— Ambassador Randy Berry (@USAmbNepal) September 17, 2020
त्यस्तै नेपालका लागि बेलायती दूतावासले पूर्व राजदूत रिचार्ड मोरिसको मृत्युको खबरले आफूहरु स्तब्ध भएको जनाएको छ । दूतावासले मोरिसको प्रेरणादायी नेतृत्वको स्मरण गर्दै उनकी पत्नी एलिसन र बच्चाहरुप्रति समवेदना व्यक्त गरेको छ ।
बेपत्ता भएको ४ महिनापछि दुई साताअघि फेला परेको मोरिसको शवको औपचारिक रुपमा सनाखत गरिएको हो । आफ्नो घरबाट दौड्न निस्कने क्रममा मोरिस गत मे ६ तारिख बिहान देखि हराएका थिए । लामो खोजीपछि प्रहरीले गत ३१ अगस्तका दिन मोरिसको शव एलिस होल्ट जंगलमा भेटेको थियो ।
पूर्व राजदूत मोरिसको निधनबाट विक्षिप्त उनको परिवारले उनलाई एक माया गर्ने, बफादार बाबु एवम् श्रीमानको रुपमा सम्झिएका छन्।
‘आफ्ना कूटनीतिक सहकर्मीहरुमाझ उहांको एक रमाइलो, दयालु र प्रतिभाशाली छवि थियो’, परिवारले भनेको छ, ‘आफ्नो ३० वर्ष लामो करियर उहांले पूर्ण इमान्दारी र निष्ठापूर्वक बिताउनुभयो ।’
मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा बेलायती राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।
ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि गत जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो ।
उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएका थिए ।